२०७५ सालकै चर्चित काण्ड, हालसम्म परिणाम शून्य

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १६ : ०१
२०७५ सालकै चर्चित काण्ड, हालसम्म परिणाम शून्य

चितवन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना २०७५ सालभरि नै चर्चित बन्यो । घटनाको दोषी हालसम्म पत्ता लाग्न सकेको छैन । 
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थायी घर भएकी कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्त शव साउन ११ गते उखुबारीमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानबाट  निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो ।
तर घटना अनुसन्धान गरेर अपराधी पत्ता लगाउने सवालमा नेपाल प्रहरीलाई हालसम्म सकस भइरहेको छ । यही यही घटनाले नेपाल प्रहरी केही हदसम्म बदनाम पनि भयो । प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा महेन्द्रनगरमा आन्दोलन भयो, गोली चल्यो । एक युवकले अनाहकमा ज्यान गुमाए । तर आजसम्म निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन । २०७५ सालभरिकै यो घटना तातो भइरह्यो । नेपाल प्रहरीका लागि निर्मला बलात्कार–हत्या घटना ‘घाँटीमा अड्किएको हड्डी’ जस्तै भएको छ । 
निर्मलाको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु अहिले ‘प्रमाण नष्ट’ र ‘यातना विरुद्धको अपराध’ मुद्दा खेपिरहेका छन् । निर्मला हत्या प्रकरणमा गृह–मन्त्रालय र प्रहरी प्रधान कार्यालयले फरक–फरक कमिटी बनाएर घटना छानविन गरिरहेका छन्, तर हालसम्म हात लाग्यो शून्य भइरहेको छ । 
प्रहरी कर्मचारीको भूमिका मात्रै अनुसन्धान गर्न एआईजी धिरु बस्न्यात नेतृत्वमा बनेको कमिटीले निर्दोष अनुसन्धान अधिकृतलाई समेत ‘मतियार’को पगरी गुथाइदिएको छ ।
अनुसन्धान गर्न फरक–फरक भूमिकामा खटिएका अनुसन्धान अधिकृतहरुले पाँच सयभन्दा बढी शंकास्पद व्यक्तिसँग बयान लिइसकेका छन् । तर परिणाममा निर्मला बलात्कार–हत्याको अझै पटाक्षेप हुन सकेको छैन । अहिले पनि अनुसन्धान जारी छ । यो घटनामा झन्डै १०० जनाको डीएनए परीक्षण भइसकेको छ, तर पनि घटनाका दोषी कानुनी दायरामा आउन सकेका छैनन् । पक्राउ परेका केही व्यक्ति व्यक्तिको डीएनए नमिलेपछि प्रहरीले छोडेको थियो । 
निर्मला प्रकरणमा ९ जना प्रहरी कारबाहीमा परेका छन् । जसमध्ये, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक इन्सपेक्टर जगदीश भट्टलाई मन्त्रिपरिषद्को बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो ।प्रहरी नायव उपरीक्षक डीएसपी अङ्गुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक सई रामसिंह धामी, सई हरिसिंह धामी बस्न्यात कमिटीको सिफारिसमा निलम्बन भएका र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।  
अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्युरोको साख पनि यो घटनाले घटाएको छ । अझै पनि यो घटना गर्भमै छ, अmझै प्रहरी टोली अनुसन्धानमै छ, तर पनि परिणाम शून्य भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस