तीन सातापछि काठमाडौँ फर्के पूर्वराजा

शुक्रबार, ०५ माघ २०७४, १५ : २१
तीन सातापछि काठमाडौँ फर्के पूर्वराजा

नेपालगञ्ज  । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह तीन सातापछि राजधानी फर्किएका छन् ।

नेपालगञ्जलाई ‘टुरमुकाम’ बनाएका पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा र ज्वाईसँगै शुक्रबार साढे एक बजे श्री एयरलायन्सबाट राजधानी फर्किएका हुन् ।

पूर्वराजालाई बिदाइ गर्न स्वागत मूल समारोहका संयोजक दीपकबहादुर सिंहलगायत विमानस्थल पुगेका थिए ।

‘साँझ ५ बजेका लागि टिकट मिलाइएको थियो, दिउँसो नै जानु पर्ने भएपछि हतार–हतार भयो, स्वागत मूल समारोहका संयोजक सिंहले भने, धेरैजना बिदाइमा आउन पाएनन् ।’

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पुस १३ गते नेपालगञ्ज आएका थिए। नेपालगञ्ज आएकी हिमानी भने थाइल्याण्ड जानु पर्ने भएकाले बिचैमा फर्किएकी थिइन् । पूर्वराजाले नेपालगञ्जमा बस्दा बर्दिया, धनगढी, दाङ, सुर्खेत र भारतको लखनऊको भ्रमण गरेका थिए। २२ दिन नेपालगञ्जको बसाइका क्रममा पूर्वराजा चार दिन लखनऊमा बसेका थिए । लखनऊमा पूर्वराजाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए ।

बाँके, बर्दिया, कैलाली, दाङ र सुर्खेतका शक्तिपीठहरुको दर्शन गरेका पूर्वराजाले होटलमै विभिन्न व्यक्तित्वहरुलाई भेटेका थिए । हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने राप्रपाका अध्यक्ष कमल थापादेखि विभिन्न जिल्लाका नेता तथा सर्वसाधारणसँग पूर्वराजाले भेट गरेका थिए ।

विमानस्थल, मठमन्दिरमा जादा र होटलकै प्रांगण तथा हलमा भेट दिंदा पनि पूर्वराजाले भने आफ्नो तर्फबाट कुनै भनाइ या प्रतिक्रिया जनाएका थिएनन् । राजा समर्थकहरुले भने ‘सक्रिय हुन, राजावादीलाई एकजुट गराउन, हिन्दु राष्ट्र बारेमा जनमत संग्रह गराउने पहल गर्न’ राजालाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस