राष्ट्र विकासको अभियानमा सहयोग गर्न विपक्षी दललाई खानेपानी मन्त्रीको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०७५, १९ : ०२
राष्ट्र विकासको अभियानमा सहयोग गर्न विपक्षी दललाई खानेपानी मन्त्रीको आग्रह

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन प्रतिपक्षी दललाई आग्रह गर्नु भएको छ । 
चन्द्रागिरी नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकास निर्माणको अभियानमा भ्रम नफैलाउन विपक्षी दललाई आग्रह गर्नु भएको हो । मन्त्री मगरले समृद्ध  नेपालको अभियानमा रचनात्मक भुमिका खेल्न सबैलाई आव्हान गर्नु भयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, " समृद्ध नेपाल सुखी नेपालीको आधार शिला सरकारले खडा गरेको छ । खानेपानी लगायत अन्य विकास निर्माणको काममा सरकार गम्भीर छ । विकासको काममा हातेमालो गरि अगाडि बढौं ।"  
मन्त्री मगरले जलाधार संरक्षण गरेर खानेपानीको स्रोत जोगाउने कार्यमा मन्त्रालय लागिरहेको बताउनुभयो । उहाँले चन्द्रागिरी नगरपालिका जस्तै देशका धेरै ठाउँमा खानेपानीको सहज आपूर्तिमा मन्त्रालय योजना बनाएर अघि बढेको स्पष्ट पार्नुभयो । 
लघु तथा घरेलु उधममा महिलाहरुको सहभागिता बढाउन  यस्ता महोत्सवहरु भइरहनु पर्नेमा उहाँले जोड दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस