इन्टरनेट सेवा प्रदायक आन्दोलित, चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०७५, १६ : २३
इन्टरनेट सेवा प्रदायक आन्दोलित, चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । ‘अरबौंको फ्रिक्वेन्सी विनाप्रतिस्पर्धा कसैलाई वितरण गर्न पाइँदैन, यस्तो विभेदकारी नीति नियम चाहिँदैन ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीलाई गलत भन्दै इन्टरनेट सेवा प्रदायक संघ नेपाल आन्दोलनमा उत्रिएको छ । टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले विनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको प्रवेश द्वारमा इन्टरनेट सेवा प्रदायकहरुले धर्ना दिएका हुन् ।

सरकारले वर्षाैंदेखि आफूहरुलाई फ्रिक्वेन्सी नदिएको र हाल आएर टेलिभिजन प्रसारक संस्थालाई ‘चोर बाटो’बाट दिन लागेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । विद्यमान विनियमावली नै परिवर्तन गरेर सरकारले सस्तोमा फ्रिक्वेन्सी दिन लागेको थाहा पाएपछि धर्नामा बसेको उनीहरुले बताएका छन् । फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यासविपरीतको कार्य नगर्न उनीहरुले सचेत गराएका छन् । सरकारले आफूहरुको माग सुनुवाई नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी सेवा प्रदायकहरुले दिएका छन् ।  

मन्त्रालयको ठाडो हस्तक्षेपमा फ्रिक्वेन्सी गैरकानूनी तवरबाट बाँड्न लागिएकाले आन्दोलनमा आएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताए । फ्रिक्वेन्सी अक्सन (मोल बढाबढमा लिलामी) गर्नुपर्ने उनी बताउँछन् । ‘अक्सन गर्दा राज्यलाई पनि फाइदा हुने बताउँदै उनी भन्छन्, ‘कसैलाई पोस्नका निम्ति नै सरकारले ब्याक डोरबाट फ्रिक्वेन्सी दिन लाग्नु गलत छ ।’
 

प्रतिक्रिया दिनुहोस