अन्ततः यो वर्ष गैंडा गणना नहुने नै भयो

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०७५, १३ : ४०
अन्ततः यो वर्ष गैंडा गणना नहुने नै भयो

चितवन। एउटा उखान छ– हात्ती आयो हात्ती आयो फुस्सा । यतिबेला यही भएको छ । गैंडा गणना हुन्छ भन्दाभन्दै नहुने भएको छ । बजेट अभावले यस वर्ष गैंडा गणना नहुने भएको हो । 
यसपटक बजेट पनि नभएको र पानी परिरहेकाले घाँस पनि बढी उम्रिएकाले गणना हुन नसकेको हो । गैंडा गणना अप्रिल र मे महिनाको बीचमा गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले का महानिर्देशक खड्काले ‘गैंडा संरक्षण कार्ययोजनामा ४ देखि ५ वर्षमा गणना गर्ने भनिए पनि यस वर्ष नहुने जनाएको छ ।
यस वर्ष गैंडा गणना गर्न १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । दाताहरुले ६० प्रतिशत रकम दिने आश्वासन दिएका थिए र ४० प्रतिशत सरकारले व्यहोर्ने भनिएको थियो । 
तर, सरकारले यस वर्ष गैंडा गणनाका लागि बजेट नछुट्याएकाले बजेट अभाव भएको हो । त्यसैले अर्को वर्ष गैंडा गणना गर्ने र नेपाल सरकारले नै शतप्रतिशत बजेट छुट्याउने प्रस्ताव मन्त्रालयमा पेश गरिएको छ ।
नेपालमा पछिल्लो पटक सन् २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६४५ वटा गैंडा फेला परेका थिए । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, शुक्ला फाँटा र पर्सामा गैंडाको बासस्थान छ ।
चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनाको अवधिमा ४१ गैंडा मृत फेला परेका छन् । 

प्रतिक्रिया दिनुहोस