काठमाडौँ । निद्राका बारेमा केही भ्रम र केही वास्तविकता देखिन्छन् । २४ घण्टाको दिन र रात हुन्छ । किन दिन र रात बन्यो भन्ने ठ्याक्कै भन्न नसिकए पनि आरामका लागि नै रात बनेको हुनुपर्ने त्रि.वि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रोफेसर डा.सरोजप्रसाद वझाको तर्क छ । राति भएपछि मानिसको मस्तिष्क केही हदसम्म डाउन हुन्छ । डा.वझाका अनुसार दिउँसोको तुलनामा रातिको समयमा मस्तिष्क निष्क्रिय हुन्छ ।
नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा. इन्दुप्रसाद ढुंगेल पनि डा. वझाको तर्कमा सहमत देखिन्छन् । शरीरको विभिन्न अंगले आफ्नो निश्चित समयमा काम गर्ने बताउँछन्, डा. ढुंगेल । खाने समयमा खान खोज्ने, सुत्ने समयमा सुत्न खोज्ने किसिमको शरीरको फिजियोलोजी हुने उनले बताए ।
निद्रा पनि दैनिक जीवनको अभिन्न अंग हो । स्वस्थ हुनका लागि सामान्यतया दैनिक ६ देखि ८ घण्टा सुत्नु आवश्यक हुने चिकित्सकको तर्क छ ।
‘७५ वर्ष बाँच्ने व्यक्तिले २५ वर्ष सुतेरै बिताएको हुन्छ ।’ एक मिनेटमा १० देखि १५ पटक आँखा झिम्क्याइन्छ,’डा. ढुंगेल भन्छन्‘ ल्याक्रिमल ग्रन्थीले आँसु निकाल्छ, जसले आँखा झिम्क्याउँदा भिजाउन सहयोग गर्छ ।’
निद्राका दुई साइकल
चिकित्सकका अनुसार निद्राका दुई चरण हुन्छन्, ¥यापिड आइ मोमेन्ट (आरइएम) र नन् ¥यापिड आइ मोमेन्ट (एनआरइएम) । ¥यापिड मोमेन्ट भन्नाले निद्राको भर्खरै सुरुवाती चरण हो । यसै समयमा सपना आउँछ । यो हल्का निद्राको चरण हो । आरइएमपछि एनआरइएमको चरणमा पुगिने बताउँछन्, डा. वझा ।
चिकित्सक सामान्यतया देखिएका सबै सपनाको सम्झना नहुने बताउँछन् ।
सुतेको समयमा मस्तिष्कको सेरेब्रल कर्टेक्सको सेन्टरले धेरै काम गरेको हुँदैन । निष्क्रिय हुँदै जान्छ भने उठेको समयमा सेरेब्रल कर्टेक्सले काम गर्ने र एक्टिभ हुने बताउँछन्, डा. ढुंगेल ।
ढुंगेलका अनुसार इन्सिफालोग्रामले मस्तिष्कको अवस्था मापन गर्न सकिन्छ । सुरुमा सुत्दा आँखा हल्का बन्द हुने तर चल्दैन । ढुंगेलका अनुसार गहिरो निद्रामा आँखा चल्ने भए पनि थाहा हुँदैन ।
हल्का निद्राको चरण करिब २० मिनेटको हुन्छ । सुतेको २५ मिनेट पनि निद्रा लागेन भने अनिद्राको समस्या हुन सक्ने मनोविद् गोपाल ढकाल बताउँछन् । गहिरो निद्राको चरण करिब ७० मिनेटको हुन्छ ।
९० मिनेटमा निद्राको एक चरण पूरा हुन्छ । ९० मिनेटपछि व्यक्ति पुनः हल्का निद्रामा पुग्छ र फेरी गहिरो निद्रामा पुग्छ । निद्रा आउने–हराउने भइरहन्छ । यसरी सुतुञ्जेल यो साइकल चलि रहने चिकित्सकको तर्क छ ।
सामान्यतयाः एक दिनमा निद्राको ४ देखि ६ साइकल पूरा हुन्छ । ढकाल पनि निद्राका सपना देख्ने चरण र नदेख्ने चरण गरी दुई प्रकारका हुने बताउँछन् । भर्खरै झुम्झुम गर्दै निदाउने चरणलाई निद्राको कुकुरे चरण भनिन्छ । त्यसपछि गहिरो निद्रामा पुगिन्छ ।
सुतेको करिब ९० मिनेटमा सपनाको चरणमा पुग्ने बताउँछन्, ढकाल । यो साइकल चलिरहन्छ । ढकालका अनुसार सपना नदेखिकन गहिरो निद्रामा पुगिदैन । तर सपना देख्ने समय भने घटबढ भइरहन्छ । आठ घण्टा सुत्दा ३ देखि ७ वटासम्म सपना देखिने ढकाल बताउँछन् ।
५० प्रतिशत सपना पाँच मिनेटभित्र बिर्सन्छ भने ९० प्रतिशत सपना १० मिनेटमा बिर्सिन्छ । मनोविद् ढकालका अनुसार ब्यूँझिने समयको सपना भने सम्झना हुन्छ ।
प्रतिक्रिया दिनुहोस