स्थानीय कानून बनाउँदै तिलोत्तमा नगरपालिका

शुक्रबार, ०५ माघ २०७४, १० : २३
स्थानीय कानून बनाउँदै तिलोत्तमा नगरपालिका

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न ऐन, नियमावलीको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरपालिकाले विभिन्न स्थानीय ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा यही माघ ८ गते शुरु हुँदैछ ।

विभिन्न ऐनको मस्यौदामाथि दफावार छलफल गरेर नगरसभाबाट पारित भएपछि त्यसलाई १५ दिनभित्र नगर प्रमुखले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था रहेको नगरपालिकाका कानूनी सल्लाहकार खुमाकान्त पौडेलले जानकारी दिए ।

यसरी प्रमाणीकरण भएको ऐन प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले कतिपय ऐन पहिलो नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिसकेको छ ।

नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको ढाँचामा संघीय कानूनसँग नबाझिने गरी स्थानीय ऐनको मस्यौदा तर्जुमा गरेको हो ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएका छन् भने अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ । स्थानीय ऐनका कुनै प्रावधान प्रदेश कानुनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने कानूनी सल्लाहकार पौडेलले जानकारी दिए । नगरपालिकाले कतिपय ऐनको मस्यौदाउपर सरोकारवालासँग छलफल गरिसकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस