कोलकाताको लोकप्रिय खाजा कट्टीरोल काठमाडौंपछि अब चितवनमा

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०७५, ११ : ०८
कोलकाताको लोकप्रिय खाजा कट्टीरोल काठमाडौंपछि अब चितवनमा

चितवन । फलामको ठूलो तावामाथि कुखुराको मासु भुटेपछि मैदाको रोटीमा बेरेर तयार पारिने खाजा हो चिकेन कट्टीरोल । तास, चाउमिन, पिज्जा र मःमलाई मात्रै खाजाको रुपमा बुझेका वा विकल्प नपाएका चितवनवासीले अब भारतको कोलकातामा प्रचलित खाजा कट्टीरोलको स्वाद भरतपुरबाटै पाउने भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १०, सप्तगण्डकी रोड (तीन नम्बर चोक नजिक) आज शुक्रबारदेखि एन्टीक्यू स्याङ्को कट्टीरोल संचालनमा आएको छ । चिकेन, एग र भेज कट्टीरोलका विभिन्न परिकार यहाँ उपलब्ध छन् । काठमाडौंस्थित चाइना टाउनमा काम गरिसकेका अनुभवी सेफ यज्ञ ठोकरले एन्टीक्यू पुगेका ग्राहकलाई स्वादिलो कट्टीरोल तयार पार्छन् । एन्टीक्यूको भरतपुर आउटलेटमा ग्राहकको सेवाका लागि चार जना वेटर छन् । अन्य एक जनाले अफिस तथा होम डेलिभरी सेवा दिने संचालक पुरुषोत्तम भट्टराईले बताउनु भयो ।

संचालक भट्टराईका अनुसार पाँच वर्षको लागि भवन भाडामा लिएर १५ लाख रुपैयाँ लगानीमा एन्टीक्यू स्याङ्को कट्टीरोलको चौथो आउटलेट भरतपुरमा संचालनमा ल्याइएको हो । यसअघि काठमाडौंको गैरीधारामा पहिलो, झम्सीखेलमा दोस्रो र चक्रपथमा तेस्रो आउटलेट संचालनमा ल्याइएको भट्टराईले बताउनु भयो । भरतपुरस्थित चौथो आउटलेटमा एकपटकमा ४८ जना र क्याबिनमा थप ६ जनालाई सेवा दिन सकिने उहाँले बताउनु भयो । सबै कर्मचारी काठमाडौंबाटै ल्याइएको र घर तथा कार्यालयको लागि थप शुल्क नलिई डेलिभरी सेवा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौंस्थित स्याङ्को कट्टीरोलमा १५ वर्ष काम गरिसक्नु भएका अमित राईसँग पुरुषोत्तम भट्टराईको भेट भएपछि दुई जना मिलेर आफ्नै आउटलेट संचालन गर्ने योजना बन्यो । २०७३ सालमा गैरीधारामा एन्टीक्यू स्याङ्को कट्टीरोल संचालनमा ल्याएका राई र भट्टराईले व्यावसायिक सफलतासँगै आउटलेट बिस्तार गरे । दुई वर्षभित्रै चार ठाउँबाट आउटलेट संचालन भइरहेको छ । चार वटै आउटलेटमा गरी ५० लाख रुपैयाँ हाराहारी लगानी भएको संचालक भट्टराईले बताउनु भयो । यी सबै आउटलेटमा भेज तथा ननभेज कट्टीरोलसँग खाजाका अन्य परिकार र खाजा समेत उपलब्ध छन् । ‘पिज्जा, चाउमिन र मःममात्रै खाजा होइनन् । तिनीहरुको विकल्पमा कट्टीरोल लिएर ग्राहकको सेवामा उपस्थित भएका छौं’ उहाँले भन्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस