एकै परिवारका तीन जनाले गरे आत्महत्या

आमा, छोरी र छोरा सल्लाह गरेर झुन्डिएजस्तो देखिन्छ : प्रहरी

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०७५, १० : ३६
एकै परिवारका तीन जनाले गरे आत्महत्या

चितवन । भरतपुर महानगरपालिका वडा नं १८ मिलनचोक बजारनजिकै सहरी क्लिनिक टोल निवासी एकै घरका तीन जनाले गए राति आत्महत्या गरेका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३५ वर्षकी आमा माया आलेमगर, उनकै १३ वर्षकी छोरी विनिता आलेमगर, १२ वर्षका छोरा दिवस आलेमगरले गएराति एकै ठाउँमा सलको पासो लगाएर आत्महत्या गरेका हुन् । ‘टिनले छाएको एकतले घरमा झ्याल ढोका बन्द गरेर एकै ठाउँमा तीन वटा सलको प्रयोग गरेर आत्महत्या गरेको भेटियो’ जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका इन्सपेक्टर राजकुमार थापाले भने, ‘अत्महत्याको अवस्था हेर्दा सल्लाह गरेजस्तो देखिन्छ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरको बलोमा खाटमाथि टेबुल राखेर सलको पासो लगाई तीन जनाले एकै समयमै एकैचोटी आत्महत्या गरेका उल्लेख छ । 
छोरी विनिता कक्षा ५ र छोरा दिवस कक्षा ७ मा स्थानीय मिलन ई. स्कुलमा अध्ययनरत थिए । उनीहरुका आमा माया आलेमगरले मिलनचोक बजारमा चिया पसल सञ्चालन गरेकी थिइन् । बुबा नेपाली सेनामा कार्यरत छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
‘घरमा तीनजना बाहेक अरु कोही थिएनन्, आमाले पसल चलाउँथिन्, बुबा सेनामा थिए । सेनामा भएका बुबाको घर आउजाउ पनि भइरहेको थियो, के कारणले आत्महत्या गरे केही थाहा हुन सकेन’ एक स्थानीयले भने, ‘श्रीमान् जागिर, श्रीमतीको व्यवसाय थियो, छोराछोरीको पढाइ राम्रै थियो, बोर्डिङ पढिरहेका थिए ।’
घरबाट पसल ५ मिनेटको दुरीमा पर्छ । पसल नखोलेपछि किन खुलेन भनेर चिया खान आएका स्थानीय घरमा पुगेपछि बल्ल आत्महत्याको घटना बाहिर आएको प्रहरीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस