बेलोध खिचरा महोत्सवबाट पर्यटन प्रवद्र्धनमा सहयोग : प्रमुख दाहाल

विहीबार, ०४ माघ २०७४, १७ : ५८
बेलोध खिचरा महोत्सवबाट पर्यटन प्रवद्र्धनमा सहयोग  :  प्रमुख दाहाल

पटिहानी । थारुहरुको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको अवसर पारेर पश्चिम चितवनको पटिहानीमा आइतबारदेखि सुरु भएको पहिलो बेलोध खिचरा महोत्सवको बिहीबार समापन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ सिमलगैरीमा आयोजित महोत्सवको समापन कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महोत्सवको समापन गर्नु भएको हो ।
महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटकीय सम्भावना बोकेको पटिहानी क्षेत्रमा सम्पन्न बेलोध खिचरा महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको आफूले महसुस गरेको बताउनु भयो । उहाँले थारू संस्कृतिको रीतिरिवाज र भेषभूषा संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटनको विकासमा लाग्नुपर्ने बताउनु भयो ।


थारू समुदायको महान पर्व माघीको अवसरमा बेलोध खिचरा महोत्सव आयोजना गरी सभ्य र भब्य रूपमा सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिँदै महानगर प्रमुख दाहालले यस्ताखाले कार्यक्रमको संरक्षण र प्रवद्र्धनमा भरतपुर महानगरपालिकाको सधैं साथ र सहयोग रहने बताउनु भयो ।
भरतपुर महानगरपालिकाले भर्खरै ऐतिहासिक प्रथम नगर सभा सम्पन्न गरेको स्मरण गर्दै दाहालले पर्यटन विकास महानगरको प्राथमिकतामा परेको बताउनु भयो । महानगर प्रमुख दाहालले अबको पाँच वर्ष पूर्वाधार विकासको वर्ष हुने बताउँदै ग्रामीण क्षेत्र र सहरी क्षेत्रको आवश्यकताका आधारमा समुचित विकास गर्दै जाने बताउनु भयो । ‘अब विकासमा कोही कसैले राजनीति गर्ने होइन’ उहाँले भन्नुभयो, ‘अब विकासका लागि हातेमालो गर्दै अगाडि बढ्न म सबैलाई आग्रह गर्दछु ।’
थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ५ बेलोध प्रगन्नाले आयोजना गरेको महोत्सवको प्रदेश सभा सदस्य रामलाल महतोले उद्घाटन गर्नुभएको थियो । महोत्सवमा थारु समुदायको भेषभूषा, रहनसहन, खानाका परिकारका साथै व्यावसायिक गरी ५० वटा स्टल राखिएको थियो । चार दिनसम्म चलेको महोत्सव अवलोकनका लागि आएका दर्शकहरुले जिप सफारी, हात्ती सफारी र डुंगा सफारी तथा गाडा चढेर स्थानीय संस्कृति तथा वन्यजन्तुको अवलोकन गरेका थिए ।


महोत्सवको १५ हजार दर्शकले अवलोकन गरेको र महोत्सवमा एक करोड बराबरको आर्थिक कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक ठगाई महतोले जानकारी दिनुभयो । मेलाका विशेषताहरुमा थारू जातिको खानाको घोँघी, चिचर, माछा र हाँसका परिकारहरू, थारू समुदायको भेषभुषा, सँस्कृति झल्कने प्रस्तुति रहेको महतोले बताउनु भयो ।
महोत्सव परिसरमा योङ नेपालका युवाहरूद्वारा पुस्तकालय निर्माणार्थ चिया तथा कफी बिक्री गरिएको बजार ब्यवस्थापन समितिका संयोजक तथा महोत्सवको मिडिया संयोजक सुदिप सुवेदीले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न निकाय तथा संघसंस्थालाई प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मायाको चिनो वितरण गर्नु भएको थियो ।


मेला आयोजक मूल समितिका संयोजक ठगाई महतोले पहिलो बेलोध खिचरा महोत्सवले थारू समुदायको साँस्कृतिक विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
महोत्सव समापन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का अध्यक्ष विष्णुप्रसाद महतो, वडा नं. १३ का अध्यक्ष प्रकास दवाडी लगायतले यस क्षेत्रको पर्यटन विकासमा यस्ता मेला, महोत्सव सहयोगी हुने बताउँदै भब्य र सभ्य रूपमा बेलोध महोत्सव सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
महोत्सव अवधिभर हास्य कलाकार सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, लोकगायक बिष्णु खत्री, जमुना सनम, मनोज चौधरी लयायतका कलाकारहरूले महोत्सवलाई साथ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस