एमालेसँग चाँडो एकता हुन्छ : प्रवक्ता भुसाल

विहीबार, ०४ माघ २०७४, १७ : ३६
एमालेसँग चाँडो एकता हुन्छ : प्रवक्ता भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले) संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकि छिन ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् ।

दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरिन् । दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उनको भनाइ थियो ।

मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै नेत्री भुसालले भनिन्, “जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।”

सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे बताउँदै उनले जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने बताइन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस