त्रिभुवन विमानस्थलमा रन–वे स्तरोन्नतिको काम सुरु

दैनिक १० घण्टा उडान बन्द हुने

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १२ : २२
त्रिभुवन विमानस्थलमा रन–वे स्तरोन्नतिको काम सुरु

काठमाडौं । नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको रन–वे स्तरोन्नतिको काम सुरु गरिएको छ । बुधबार पूजाआजा गरेर पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले रन–वे (धावनमार्ग)   स्तरोन्नतीको शिलान्यास गरेका हुन् । 

धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने छ । यसअघि दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल अहिले स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द हुने छ । 

सन् १९७५ मा निर्माण गरिएको त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किन्छ । तर त्यसलाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने गरिन्थ्यो । तर अब भने धावनमार्गको सम्पूर्ण पिच उप्काएर पहिलोपटक पुनः कालोपत्रे गरिने भएको हो । 

स्तरोन्नतिको काम सक्न बढीमा ९० दिन लाग्ने विमानस्थलका प्राविधिकहरुको भनाइ छ । चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले यो कामको ठेक्का पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे को स्तरोन्नति गर्ने छ ।

प्रतिक्रिया दिनुहोस