नारायणकाजी श्रेष्ठले बुझाए चुनावी खर्च

विहीबार, ०४ माघ २०७४, १३ : ५९
नारायणकाजी श्रेष्ठले बुझाए चुनावी खर्च

गोरखा । नेकपा माओवादी केन्द्रबाट गोरखा २ मा प्रतिनिधिसभा चुनाव लडेका नारायणकाजी श्रेष्ठले आफ्नो निर्वाचन खर्च  बुझाएका छन् । उनले  १७ लाख २९ हजार ९ सय २५ रुपैयाँ खर्च भएको विवरण आफ्ना प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय गोरखामा बुझाएका हुन् ।

मंसिर १० गते सम्पन्न निर्वाचनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग उनी पराजित भएका थिए । बाबुरामको तुलनामा उनको निर्वाचन खर्च कम हो । बाबुरामले २४ लाख रुपैयाँभन्दा धेरै रकम खर्च गरेको विवरण बुझाएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२ (४) अनुसार निर्वाचनको परिणाम प्राप्त भएका मितिले ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ । खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ  ।

जिल्लामा १२ उम्मेदवारको मात्र धरौटी रकम फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा उम्मेदवारले धरौटीस्वरूप १० र प्रदेशसभा उम्मेदवारले ५ हजार बुझाएका थिए ।

नारायणकाजीले नामावली खरिदमा २ हजार ९ सय २५ रुपैयाँ, सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा एक लाख, प्रचारप्रसार सामग्रीमा ९८ हजार, ढुवानीमा ३५ हजार, गोष्ठी र कार्यकर्ता परिचालनमा ५ लाख ७५ हजार, विभिन्न सञ्चारमाध्यममा प्रचारमा ९२ हजार, कार्यालय सञ्चालनमा एक लाख २५ हजार, प्रतिनिधि परिचालनमा १ लाख ४० हजार र विविधमा १ लाख १२ हजार रुपैयाँ खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी कमलापति अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस