खानेपानी विभागले पठायो हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०७५, १६ : ०३
खानेपानी विभागले पठायो हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

काठमाडौं । बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । 
हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ ।  

पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने विशेषज्ञ पाण्डेले बताउनुभयो । हिजो विनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलै क्षति पु-याएको छ ।
विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयहरु मार्फत र नेपाल खानेपानी संस्थानले समेत आफ्नो क्षेत्राधिकार भित्र रहेर हावाहुरी प्रभावित क्षेत्रमा कार्य गरिरहेको छ ।    

प्रतिक्रिया दिनुहोस