पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १८ : २६
पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 
विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताउनु भएको हो । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।” 

खानेपानीमा आम जनताको पहुँच पु-याउन योजना बनाएर सरकार अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । खानेपानीमा सहज पहुँच पु-याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताउनुभयो । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्वमन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस