जलविद्युतमा सर्वसाधारणले यसरी किन्न सक्छन सेयर

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १८ : १९
जलविद्युतमा सर्वसाधारणले यसरी किन्न सक्छन सेयर

प्रतिकात्मक फोटो

काठमाडौं । जनताको जलविद्युत कमर्यक्रम अन्तर्गत पहिलो चरणमा निष्काशन भएको माथिल्लो थ्रि बी को सेयरमा आवेदन दिन सर्वसाधारण निकै उत्सुक देखिएका छन् ।
बिहीबार जनताको जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता सेयरका लागि आवेदन दिंदै उक्त कम्पनीको पहिलो आवेदक बनेका थिए । यस आयोजनामा लगानी गर्न चैत १ गते आव्हानपत्र प्रकाशन गरी चैत ७ गतेदेखि सेयर बिक्री खुल्ला गरिएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले सेयर बिक्री खुल्ला गरिएको पहिलो दिन बिहीबार साँझ साढे ५ बजेसम्म १२ हजार ७ सय ७३ आवेदकले ६० लाख ३१ हजार १ सय ३० कित्ता सेयर किन्न आवेदन दिएको जानकारी दिए ।

कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख बराबरको १०० रुपैयाँ अङ्कित मूल्यमा ३७ लाख ५ हजार कित्ता साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आयोजनाका लागि माग गरेभन्दा करिब २ गुणा बढी आवेदन पहिलो दिनमा नै परेको हो । ऊर्जा मन्त्रालयले अघि बढाएको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको पहिलो आयोजना त्रिशुली थ्री ‘बी’ को सेयरमा लगानीकर्ताले पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ सेयर भाउमा नै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

सेयर निष्काशन कार्यविधि अनुसार इच्छुक आवेदकले आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको दश प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरमा प्रतिकित्ता १० रुपैयाँमा सेयर खरिद गर्न सकिन्छ । बाँकी ९० प्रतिशत रकम आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । सोही समयमा ९० प्रतिशत रकम लगानीकर्ताले भुक्तानी गर्नुपर्छ । कार्यविधि अनुसार हाल सेयर खरिद गर्नका लागि बुझाइएको १० प्रतिशत रकमको पनि कारोबार योग्य नभएसम्म वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्ने व्यवस्था छ ।

सर्वसाधारणले यसरी किन्न सक्छन सेयर 
ग्लोबल आइएमइ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा रहेको छ । प्राथमिक सेयर निष्काशन गरेका अन्य कम्पनीमा जस्तै यो आयोजनामा पनि आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि– आश्वामार्फत सेयर आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
त्यस्तै मेरो सेयर सफ्टवेयर प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट जुनसुकै स्थानबाट आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट समेत सेयर भर्न सकिन्छ । कम्पनीको सेयरमा चैत ७ गते आजदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । सर्वसाधारणले न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीको अवस्था के छ ?
नुवाकोटमा निमार्णाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्रि बी आयोजजना जनताको जलविद्युत कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको छ ।

यस आयोजनामा प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी, आयोजना प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको ५ प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत साथै विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत सेयर छुट्याइएको छ ।

उत्पादनगृहदेखि थ्री ‘बी’ हब सवस्टेशनसम्मको ३ किमी लामो १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी छ । आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत रहेको छ ।  आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीले पाएको छ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
जनताको जलविद्युत कार्यक्रममा ४ सय ८२ मेगावाटको अरुण किमाथांका, ७ सय २५ मेगावाटको माथिल्लो अरुण ३ सय ७२ मेगावाटको अरुण चौथो लगायतका आयोजना समावेश गरिएको छ । 

प्रतिक्रिया दिनुहोस