चमत्कारी नेतामा कस्ता–कस्ता गुण हुन्छन् ? सन् १९११ मा समाजशास्त्री रोबर्ट माइकल्सले तयार गरेको सूचीअनुसार ती गुण थिएः ज्ञान, वाक्पटुता, आत्मविश्वास, आत्मनिर्भरता र सबैभन्दा महत्त्वपूर्ण प्रसिद्धि।
माइकल्सले लेखिरहेको त्यो समयमा नेताहरू पत्रिका, रेडियो, पुस्तक र भाषणबाजीबाट प्रसिद्धि कमाउँथे। त्यसको निकै पछि टेलिभिजन आयो र रात्रिकालीन राजनीतिक कार्यक्रम सुरु भए। तर, पछिल्लो दशकमा यी मञ्चको स्थान सञ्चारको नवीन साधनले लिएको छ। त्यो हो, सामाजिक सञ्जाल।
टेलिभिजनका लागि सुहाउँदो व्यक्तित्व भएका नेताले आ–आफ्ना घरको बैठक कोठामा बसेका दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भए। यसको प्रसिद्ध उदाहरणका रूपमा सन् १९६० को अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई लिन सकिन्छ। टेलिभिजनमा प्रसारण गरिएको राष्ट्रपतीय बहसमा रिचर्ड निक्सनलाई पराजित गर्दै जोन एफ केनेडी अनपेक्षित रूपमा ह्वाइट हाउस छिर्न सफल भए। आजको सामाजिक सञ्जालको युगमा त प्रसिद्धि र राजनीतिबीचको सम्बन्ध अत्यन्त चरम रूपमा प्रकट भइरहेको छ।
आज नेताको राजनीतिक प्रभाव केही हदसम्म सामाजिक सञ्जालको मिटरमा नाप्ने गरिन्छ। कति लाइक आयो, कति फलोअर छन्, कति सेयर भयो, हेरिन्छ। ट्वीटरमा प्रकट हुने वीरता र कौशल (वा त्यसको अभाव) ले नेताको करिअर बनाउन र बिगार्न सक्छ। एक समय सामाजिक सञ्जाल राजनीतिक सञ्चारका लागि सहायक माध्यम थियो। तर, अहिले यसले टेलिभिजनलाई पछि पार्दै छ। यसले जर्ज ओस्बोर्नको यो भनाइलाई पनि पुष्टि गर्छ, ‘सामाजिक सञ्जालको शक्तिलाई बुझ्न नसक्ने नेता डाइनोसर युगका हुन्।’
त्यसो भए राजनीति र सामाजिक सञ्जालबीचको यो गठबन्धनको नतिजा के होला त ? पहिलो, डिजिटल मिडिया राजनीतिक नेतृत्वको भर्याङ बनेको यो समयमा नेताहरूले युट्युबर्स तथा इन्स्टाग्राम सेलिब्रिटीको बोलीचाली र शैली प्रयोग गर्न थालेका छन्। ट्वीटरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘कफी’ को हिज्जे बिगार्छन् अनि त्यसमाथि रिपोर्टिङ र विचार स्तम्भको बबन्डर सुरु हुन्छ।
दोस्रो, विगतको तुलनामा आजका राजनीतिक नेताहरू बढी नौटंकी देखाउँछन् र अतिशयता प्रदर्शन गर्छन्। २० औँ शताब्दीको सुरुवातका नेताहरू आफ्नो व्यावसायिकता, गम्भीरता र विश्वसनीयतामा जोड दिने गर्थे। आजका नेता ठीक उल्टा छन्। आत्मप्रदर्शन र आत्मपूजन सामाजिक सञ्जालमा चर्चित र लोकप्रिय हुने मुख्य उपाय बनेको छ।
यी आधुनिक चर्का नेताले राजनीति र पार्टीबीचको सम्बन्धलाई उल्टोपाल्टो बनाइदिएका छन्। लोकतन्त्रको प्रतिनिधिमूलक मोडलमा नेता नाम मात्रका अगुवा हुन्छन्, वास्तविक शक्ति त पार्टी संगठनमा हुन्छ। त्यसको उल्टो आजका चर्का नेताका सामाजिक सञ्जालमा तिनको संगठनभन्दा धेरै गुणा बढी समर्थक हुन्छन्। त्यस्ता नेता पार्टीभन्दा माथि हुन्छन्। तिनले आफ्नो व्यक्तिगत प्रसिद्धिका आधारमा पार्टीलाई गति दिएका हुन्छन्।
सामाजिक सञ्जालमा आधारित यो नयाँ राजनीतिमा अभूतपूर्व सफलता हात पार्ने एक नेत्री हुन्, अमेरिकी डेमोक्य्राटिक पार्टीकी सांसद् अलेक्जेन्ड्रिया ओकाजियो कोर्टेज। उनको नामको छोटकरी रूप र ट्वीटर ह्यान्डलको नाम छ, एओसी। ट्वीटरमा उनका ३२ लाखभन्दा बढी फलोअर्स छन्। जुन तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भन्दा झन्डै १० लाख बढी हो।
उनले युनिभर्सल मेडिकेयर, ग्रिन न्यू डिल, प्रगतिशील करप्रणालीजस्ता चर्चित नीति अघि सारेकी छन्। उनको फलोअर्स संख्याले केही खास समूहमा उनको नीतिको आकर्षणलाई मात्र पुष्टि गर्दैन। बरु सामाजिक सञ्जालमा आफ्ना नीतिबारे छलफल गर्ने उनको क्षमतालाई पनि दर्शाउँछ। सामाजिक सञ्जालमा उनी ब्रोंक्समा हुर्केकी स्पेनी मूलकी महिलाका रूपमा आफ्नो व्यक्तिगत कथालाई पस्किन्छिन्।
क्लिकबेट र लोभलाग्दा सामग्रीमार्फत एओसीले सामाजिक सञ्जालमा प्रसिद्धि प्राप्त गरिन्। उनी घरमा खाना पकाइरहेको, भदाहरूसँग खेलेको भिडियो पोस्ट गरेर दर्शकलाई आफ्नो अन्तरंग संसारमा निम्त्याउँछिन्। १० वर्षअघि बोस्टन युनिभर्सिटीको छतमा उनी नाच्दै गरेको भिडियो हालै सार्वजनिक भयो। त्यसलाई लिएर विपक्षीहरूले उनलाई उडाउने प्रयास गरे। तर, उनले फेरि आफ्नो संसदीय कार्यालयअगाडि नाचेको अर्को भिडियो पोस्ट गरेर उल्टै विरोधीहरूको मुख बन्द गरिदिइन्। उनको इन्स्टाग्राम अकाउन्टमा ब्युटी ब्लगर वा सेलिब्रिटीझैँ उनको मेकअप तथा सौन्दर्य रक्षाको समयतालिका राखिएको छ।
यस्तो खालको सूचना–मनोरञ्जनको हालीमुहाली देख्दा बुढ्यौलीले पछ्याइरहेका नेता तथा अडिग कार्यकर्ताहरू तीनछक्क पर्छन्। एओसीले यो लोकप्रियता र सामाजिक सञ्जालको उपस्थिति आफ्नै भरमा कमाएकी हुन्। त्यसैले कुनै राजनीतिक वक्तव्य दिनका लागि उनले कसैको अनुमति लिनुपर्दैन। सामाजिक सञ्जालमा विशाल संख्यामा फलोअर्स उनले पैसा खर्च नगरी प्राप्त गरेकी हुन्। त्यसकारण ठूला कर्पोरेसनका स्वार्थअनुकूल राजनीतिक एजेन्डा तयार गर्ने लबिस्ट तथा लगानीकर्ताको दबाबबाट पनि उनी पूर्णतः मुक्त छिन्। यही कारणले वासिङ्टनका सम्भ्रान्तहरू उनीसँग थरहरी भएका छन्।
एओसी र उनका प्रगतिशील समर्थकका लागि यो वरदान साबित भएको छ। तर, चिन्ताको कुरा प्रतिक्रियावादी नेताहरूले पनि यही उपाय अपनाउँछन्। फेसबुक र ट्वीटरकै सहारामा इटालीका अतिदक्षिणपन्थी नेता माटियो साल्भिनीको उदय भयो। उनका सोसल मिडिया म्यानेजर लुका मोरिसीले साल्भिनीलाई विशाल डिजिटल शक्तिकेन्द्रमा परिणत गरिदिए। उनको फेसबुक पेजमा ३५ लाख लाइक छ। जसका कारण डिजिटल रूपमा उनी युरोपका सबैभन्दा लोकप्रिय नेतामध्ये एक बन्न पुगे।
साल्भिनीले गर्ने फेसबुक लाइभ भाइरल बन्ने गर्छ। उनी बिनापूर्वतयारी फोन समातेर भाषण दिन्छन्। ‘मित्र’हरूलाई आफ्नो दैनिकीको जानकारी गराउनमा उनको जोड रहन्छ। उनी खाना खान गएको सूचना लाखौँ इटालियनले तुरुन्तै पाउँछन्।
नेताहरूको चमत्कारबारे माइकल्सले लेखेको २० वर्षपछि इटालीका माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीले ‘जनता र पार्टीबीच भावनात्मक सम्बन्धको महत्त्व’बारे टिप्पणी गरेका छन्। अहिले पार्टी र जनताबीचको यस्तो सम्बन्धको प्रकृति फेरिइसकेको यी चर्का नेताहरूको उदयले हामीलाई बताउँछ।
हामी त्यो युगमा बाँचिरहेका छौँ, जुन समयमा ट्रेड युनियन तथा पार्टी ब्युरोक्रेसीजस्ता सामूहिक संस्थाहरूलाई अत्यन्त शंकालु नजरले हेरिन्छ। सन् १९९० र २००० को दशकमा विद्वान्हरूले पार्टीको अस्तित्व अन्ततः नामेट हुने अनुमान गरेका थिए। राजनीतिशास्त्री रसेल डाल्टन र मार्टिन वाटेनबर्गले लेखेका थिए, ‘समकालीन समाजमा दलीय राजनीतिप्रति अविश्वास बढ्दै गएको छ।’ यो प्रवृत्तिलाई चिर्न सफल बेलायतको लेबरजस्ता पार्टीले आफ्नो संगठनमा डिजिटल क्रान्ति गरेका छन्। तिनले प्रविधिमार्फत आफ्ना सदस्यहरूलाई निर्णयप्रक्रियामा सहभागी गराएका छन्।
बेलायतमा सन् १९७९ मा ट्रेड युनियनको सदस्य संख्या १ करोड ३२ लाख थियो। २०१७ मा यो संख्या घटेर ६२ लाखमा झर्यो। औपचारिक संस्थाहरूप्रति यस्तो आम अविश्वास दुई वटा कारणले पैदा भएको हो। एक, औद्योगिक क्रान्तिसँगै स्थापना भएका पार्टी तथा युनियन नयाँ परिस्थितिअनुसार अनुकूलन हुन नसक्नु। दुई, व्यक्तिवादी र सामूहिकताविरोधी विचारधाराको प्रभुत्व हुनु।
पुराना संरचनामा जनविश्वास गुम्दै गएको अवस्थामा साझेदारी, सदस्यता, आबद्धता र समर्थनजस्ता विषयलाई आमूल परिवर्तन गर्न जरुरी छ। ग्राम्सीले ठानेका थिए, औद्योगिक क्रान्तिभन्दा पहिले मात्रै व्यक्तिगत नेतृत्व सफल हुन्थ्यो। आधुनिक समयमा पार्टी ब्युरोक्रेसी हाबी हुने उनको अनुमान थियो। तर, सामाजिक सञ्जालको युगले व्यक्तिगत र चमत्कारी नेतृत्वको पुनरागमन सम्भव तुल्याएको छ।
चर्का नेताले आफ्ना समर्थकहरूलाई एक किसिमको सामूहिक पहिचान दिएर सांगठनिक सदस्यताको अभावको क्षतिपूर्ति गरिदिन्छन्। प्रतिनिधिहरू आफूले प्रतिनिधित्व गर्नेहरूसँग सम्बन्ध स्थापित गर्न असफल भएका छन्, जसको पूर्ति यस्ता नेताले गरिरहेका छन्। अर्को शब्दमा भन्दा चर्का नेताहरू जनता र पार्टीबीचको मध्यस्थकर्ता बनेका छन्।
नागरिक समाजमा सहभागिता र आम सदस्यता भएका संगठन खुम्चिरहेका छन्। त्यसैले आउँदा वर्षमा पनि चुनावी राजनीतिमा चर्का नेताहरूको मुख्य भूमिका रहिरहने सम्भावना देखिन्छ। सामाजिक सञ्जाललाई प्रभावित पार्नेहरूप्रति हाम्रो नैतिक असहमति जेसुकै भए पनि तिनले हाम्रो भविष्यलाई परिभाषित गर्नेछन्।
(‘द डिजिटल पार्टीः पोलिटिकल अर्गनाइजेसन एन्ड अनलाइन डेमोक्रेसी’ पुस्तकका लेखक जेरबाउदो किंग्स कलेज, लन्डनस्थित सेन्टर फर डिजिटल कल्चरका निर्देशक हुन्। ‘न्यू स्टेट्सम्यान’मा प्रकाशित आलेखको अनुवाद कवि आचार्यले गरेका हुन्।) सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस