२०२१ बाट क्लब स्तरीय विश्वकप हुने

एजेन्सी

शनिबार, ०२ चैत्र २०७५, १३ : २१
२०२१ बाट क्लब स्तरीय विश्वकप हुने

एजेन्सी । युरोपियन फुटबल क्ल्बहरूले बहिष्कार गर्ने चेतावनी दिए पनि विश्व फुटबल महासंघ ९फिफा० ले सन् २०२१ बाट क्लब स्तरीय विश्वकप गर्ने निर्णय गरेको छ । फिफाले २४ टोलीका बीचमा क्ल्ब विश्वकप गर्ने निर्णय गरेको हो । नयाँ प्रकारको यस प्रतिष्पर्धामा युरोपका ८ टोली समावेश हुने अनुमान छ । यो हाल हुँदै आएको विश्वकप झै प्रत्येक ४-४ वर्षमा हुनेछ । फिफाले यसलाई जुन र जुलाईमा विश्वकप र कन्फडरेसन कप तयारी खेलहरूका रूपमा प्रयोग हुँदै आएको ‘स्लट’ मा आयोजना गर्नेछ ।

फिफा अध्यक्ष गियानी इनफान्टिनोले आफ्नो योजनालाई फिफा काउन्सिलले समर्थन गरेकोमा आफू निकै खुशी भएको प्रतिक्रिया दिएका छन् । काउन्सिलले शुक्रबार यसलाई पारित गरेको हो । ‘अब संसारले वास्तविक क्लबको विश्वकप देख्नेछ जहाँ प्रशंसकहरूले आफ्ना प्रिय टिमलाई विश्व विजेताको ताज जितेको हेर्नेछन्’उनले भने । हाल यो विश्वकप प्रत्येक डिसेम्बरमा हुँदै आएको छ जहाँ प्रत्येक ६ कन्फड्रेसनबाट कुल ७ टोलीले प्रतिष्पर्धा गर्ने गरेका छन् । यसलाई युरोपियन प्रशंसकहरूले भने उपेक्षा गर्दै आएका छन् ।

यस क्लब विश्वकपमा ८ युरोपियन क्लबसँगै दक्षिण अमेरिकाबाट ६ टोलीको साथमा अफ्रिका, एसियाको साथमा उत्तर र मध्य अमेरिकाबाट ३(३ टोली र ओशियानाबाट १ टोलीलाई सहभागी गराइनेछ । यसमा सहभागी प्रत्येक क्लबले यसबाट कम्तीमा ५० मिलियन पाउण्ड कमाउने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस