सांसद दीपक मनाङेलाई ज्यान मुद्दामा पाँच बर्ष जेल सजाय

मंगलबार, ०२ माघ २०७४, १९ : ३४
सांसद दीपक मनाङेलाई ज्यान मुद्दामा पाँच बर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय गर्ने फैसलालाई सदर गरेको छ । ज्यान मुद्दाका अभियुक्तहरु गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले भने सफाइ पाएका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशद्वय दीपक जोशी र पुरुषोत्तम भण्डारीको इजलासले मंगलबार कर्तव्य ज्यान मुद्दामा २०६९ साल साउन २८ गते  पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै सुनाएको ५ बर्ष कैद सजायलाई सदर गरेपछि मनाङेको सदस्यता संकटमा परेको हो ।

२०६१ सालमा चक्रे मिलन र दीपक मनाङे समूहबीच खुकुरी हानाहान भएपछि प्रहरीले मनाङे समूहलाई कर्तव्य ज्यान मुद्दा लगाएको थियो ।

एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका मनाङे सर्वोच्चको फैसला पछि संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका छन् । यसअनुसार उनको प्रदेश सभा सदस्यता खारेज हुने छ ।

प्रतिक्रिया दिनुहोस