नेपालको संविधानको भाग ८ मा संघीय व्यवस्थापिका गठनबारे उल्लेख छ । धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय ६५ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय १० जना सदस्य रहन्छन । प्रतिनिधिसभाको कार्यकाल संविधान बमोजिम अगावै विघटन भएमा बाहेक पाँच वर्षको हुनेछ ।
त्यस्तै संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा एक स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ, तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।
धारा ८६ अनुसार प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरीे निर्वाचित ५६ जना रहन्छन् ।
त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यको राष्ट्रिय सभा गठन हुने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा २४६ मा निर्वाचन आयोगले संविधान र संघीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने उल्लेख छ ।
के हो एकल संक्रमणीय प्रणाली ?
लामो समयसम्म राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभाको निर्वाचन सम्बन्धी अध्यादेशको मूल विवाद एकल संक्रमणीय कि बहुमतीय कस्तो निर्वाचन पद्धति अपनाउने भन्नेमा केन्द्रित रह्यो ।
कांग्रेस नेतृत्वको सरकारले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मतप्रणालीका आधारमा निर्वाचन गर्ने अडान लियो तर एमाले बहुमतीय प्रणालीको पक्षमा रह्यो भने वामगठबन्धनको अर्काे पार्टी माओवादी मध्यमार्गी भूमिकामा देखाप¥यो । अन्ततः एकल संक्रमणीय निर्वाचन प्रणालीलाई अपनाउने गरी अध्यादेश जारी भयो र राष्ट्रिय सभा निर्वाचनसम्बन्धिको गाँठो फुक्यो ।
एकल संक्रमणीय मतप्रणाली समानुपातिक निर्वाचन प्रणालीकै एक अंग हो । मतदाताहरुले निर्वाचित हुने सदस्यको संख्या अनुसार उम्मेदवारहरुलाई क्रमशः प्राथमिकताका आधारमा मत दिन्छन् ।
यो प्रणाली विक्रम सम्वत २०४७ सालको संविधानपछि माथिल्लो सदनको चुनावका लागि नेपालले अभ्यास गरिसकेको छ ।
अहिले पनि माथिल्लो सदन राष्ट्रियसभामा अपनाउन प्रस्ताव गरिएको उक्त प्रणालीका लागि सातै प्रदेशका जम्मा पाँच सय ५० जना प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय छ गरी राष्ट्रिय सभा निर्वाचनको लागि जम्मा दुई हजार ५६ मतदाताहरु तय भइसकेका छन् । यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी स्थानीय तहका पदाधिकारीको मतभार १८ र प्रदेशसभा सदस्यहरुको मत भार ४८ तोकिएको छ ।
यसरी हेर्दा प्रदेश सभा सदस्यको ५५०x४८ = २६, ४०० मतभार रहेको छ । त्यस्तै स्थानीय तहको १५०६x१८ = २७, १०८ मतभार रहेको छ । यसरी राष्ट्रिसभा गठनको लागि जम्मा ५३ हजार पाँच सय आठ मत हाल्नु पर्नेछ । उदाहरणका लागि तीन जना चयन गर्नुपर्ने हो भने उम्मेदवारहरुमध्ये तीन जनालाई नै मतदाताहरुले १, २ र ३ गरी प्राथमिकताका आधारमा मत खसाल्छन् ।
निर्वाचित हुनका लागि निश्चित मतसंख्या अर्थात थ्रेसहोल्ड तोकिन्छ । कुल सदर मतलाई कुल निर्वाचित गर्नुपर्ने संख्याले भाग गरी एक जोड्दा हुन आउने मत संख्या नै राष्ट्रिय सभा सांसद विजयी हुनको लागि न्यूनतम अंक हो । एकल संक्रमणीय मत प्रणालीमा पहिलो, दोस्रो, तेस्रो आदि प्राथमिकतामध्ये पहिलो प्राथमिकताको उम्मेदवारले आवश्यक कोटा नाघेमा विजयी घोषित गरिन्छ । पहिलो प्राथमिकताको उम्मेदवारले प्राप्त गरेको मतले थ्रेसहोल्ड पार गरेपछि बाँकी रहेको उसको मत दोस्रो प्राथमिकतामा परेको उम्मेदवारलाई हस्तान्तरण गरिन्छ । उसको मतले पनि थ्रेसहोल्ड पार गरेमा विजयी हुन्छ । यसरी उम्मेदवार निर्वाचित हुँदै जान्छन् । यो क्रम आवश्यक संख्या नपुगिन्जेलसम्म चलिरहन्छ ।
प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुने ब्यवस्थामध्ये दलित तर्फ एक जना र अपाङ्गता भएका वा लोपोन्मुख समुदाय मध्येबाट एक जना मात्र सदस्य बन्ने हुँदा यी दुवै सिटमा एकल संक्रमणीय प्रणाली लागू हुन सक्दैन । जति जना उम्मेदवार भए पनि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।
खुलातर्फ निर्वाचित हुने तीन सदस्य र महिलातर्फ निर्वाचित हुने तीन सदस्य भएकाले यी दुवैलाई छुट्टा छुट्टै क्लस्टर मानी एकल संक्रमणीय मत प्रणालीद्वारा निर्वाचन हुनेछ ।
सात प्रदेशमा कुन दलको कस्तो अवस्था
राष्ट्रियसभा निर्वाचनको इलेक्टोरल कलेजमा प्रत्येक प्रदेशबाट को को र कति मतदाता हुने भन्ने प्रष्ट भइसकेको छ । त्यसैको आधारमा कसले कति सिट जित्ने संभावना छ भन्ने कुराको लेखाजोखा गरिएको छ ।
प्रदेश नं. १
नेपाली कांग्रेसको स्थानीय तहमा ८९x१८ = १६०२ र प्रदेश सभामा २१x४८ = १००८ गरी कूल २६१० मतभार रहेको छ । त्यस्तै एमालेको स्थानीय तहमा १५४x१८ = २७७२ र प्रदेश सभामा ५१x४८ = २४४८ गरी जम्मा ५२२० मतभार कायम छ । माओवादी केन्द्रको स्थानीय तहमा १६x१८ = २८८ र प्रदेशमा १५x४८ = ७२० गरी जम्मा १००८ मतभार कायम छ ।
स्थानीय तहको र प्रदेश सभाको गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको जम्मा मतभार १२० संघीय समाजवादी फोरम, नेपालको २१६ मधेशी जनअधिकार फोरमको १२६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८, स्वतन्त्रको ४८ गरी प्रदेश १ को जम्मा मत ९३९६ रहेको छ । यस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुन आवश्यक मत २३५० हो । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकै ठाउँमा गन्दा २७३६ मत रहेकोले नेपाली कांग्रेसले महिला तर्फ १ र १ अन्य स्थान जित्ने देखिन्छ भने वाम गठबन्धनले २ महिला र २ अन्य जित्ने देखिन्छ । अन्य दुई जना भने वहुमतीय प्रणालीबाट चुनिने हुनाले वामगठबन्धनकै आउने पक्का छ ।
प्रदेश २
यस प्रदेशमा एक सय ३६ स्थानीय तह रहेका छन् । त्यस्तै प्रत्यक्ष ६४ र समानुपातिक ४३ जना गरी कुल १०७ जना प्रादेशिक सांसद रहेको अवस्था छ । स्थानीय तहमा नेपाली कांग्रेसको ७५x१८ = १३५० र प्रदेश सभामा १९x४८ = ९१२ गरी जम्मा २२६२ रहेको छ । त्यस्तै नेकपा एमालेको स्थानीय तहमा ३७x१८ = ६६६ र प्रदेश सभामा २१x४८ = १००८ गरी १६७४ मत रहेको छ । त्यस्तै माओवादी केन्द्रको ४५x१८ = ८१० र प्रदेश सभामा ११x४८ = ५२८ मत गरी जम्मा १३३८ मत रहेको छ ।
संघीय समाजवादी फोरम, नेपालको ५१x१८ = ९१८ र प्रदेश सभामा २९x४८ = १३९२ गरी जम्मा मत २३१० रहेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीको ५५x१८ = ९९० र प्रदेश सभामा २५x४८ = १२०० गरी जम्मा २१९० मत रहेको छ ।
स्थानीय तह र प्रदेश सभा गरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको स्थानीय तहतर्फ १०८, नेपाली जनता दलको स्थानीय तहमा ३६, नयाँ शक्ति पार्टी, नेपालको स्थानीय तहमा १८, नेपाल संघीय समाजवादी पार्टीको प्रदेश सभातर्फ ४८ र स्वतन्त्रको प्रदेश सभातर्फ ४८ मत रहेको छ । यसरी प्रदेश नं २ मा स्थानीय तहको ४८९६ र प्रदेश सभाको ५१३६ गरी जम्मा १००३२ मतभार रहेको छ । यस प्रदेशमा राष्ट्रिय सभामा निर्वाचित हुन आवश्यक मत २५०९ हो ।
यस प्रदेशमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको गरी २३७० मत रहेको, वाम गठबन्धनको ३०१२ मत रहेको र राजपा र संसफोको ४५०० मत रहेकोले प्रदेश २ मा वाम गठबन्धनले १ महिला र १ अन्य, राजपा र संसफोले १ महिला र १ अन्य तथा नेका+राजपा र संसफो मिलेमा १ महिला र १ अन्य वा वामगठबन्धन र राजपा+संसफो मिलेमा १ महिला र १ अन्य जित्ने देखिन्छ । यो प्रदेशमा कुनै पनि दलको एक्लै न्युनतम जित्ने मत छैन ।
प्रदेश नं. ३
प्रदेश नं ३ मा स्थानीय तहको २३८ह्१८ = ४२८४ मत रहेको छ । त्यस्तै प्रदेश सभातर्फ ६६ जना प्रत्यक्ष र ४४ जना समानुपातिक गरी ११०ह्४८ = ५२८० मत रहेको छ । यसरी यस प्रदेशको जम्मा मत भनेको ९५६४ हो ।
यस प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुन २३९२ मानिएको छ । यसमा नेपाली कांग्रेसको जम्मा २२१४ मत रहेको छ । नेकपा एमालेको ५१७८ र माओवादी केन्द्रको १६९८ गरी वाम गठबन्धनको पक्षमा ६८७६ मत रहेको छ । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ८४, नेपाल मजदुर किसान पार्टीको १३२, नयाँ शक्ति पार्टी, नेपाल ६६, विवेकशील साझा पार्टीको १४४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४८ मत रहेको छ ।
यस प्रदेशमा वाम गठबन्धनले दुई महिला र २ अन्य जित्ने देखिन्छ भने बाँकी रहेको १ महिला र अन्य नेपाल मजदुर किसान पार्टी, साझा विवेकशील, राप्रपा (प्र) समर्थनमा नेका वा वाम गठबन्धनले जित्ने संभावना रहेको छ ।
प्रदेश नं ४
यस प्रदेशमा कुल ८५ स्थानीय तहबाट मेयर र उपमेयर गरी १७० जना मतदाता रहेका छन् । उनीहरुको कुल मतभार ३०६० हो । त्यस्तै प्रदेश सभाबाट प्रत्यक्ष ३६ र समानुपातिक २४ जना गरी ६० जना प्रादेशिक सांसदबाट कुल मतभार २८८० गरी प्रदेश नं ४ मा जम्मा मत ५९४० रहेको छ ।
त्यसमध्ये एमालेको २५५६ र माओवादीको ७९२ मत गरी वामगठबन्धनको कुल ३३४८ मत रहेको छ । त्यस्तै नेपाली काँग्रेसको २१७८ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारको ४१४ मत रहेको अवस्था छ । यस प्रदेशमा निर्वाचन जित्न आवश्यक मतसंख्या १४८६ हुन आउँछ । यस प्रदेशमा १ सिट जित्न आवश्यक पर्ने न्युनतम मतसंख्या कांग्रेसले कटाएको छ । यस आधारमा खुलातर्फ १ र महिलातर्फ १ सिट कांग्रेसले यस प्रदेशबाट जित्ने सम्भावना छ । वाम गठबन्धन कायम रहेको अवस्थामा यस प्रदेशबाट बाँकी ४ सिट र वहुमतीय प्रणालीबाट निर्वाचित हुने अरु २ सिट गठबन्धनले जित्ने पक्का छ ।
प्रदेश ५
प्रदेश ५ मा १०९ स्थानीय तहबाट मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी २१८ जना मतदाता रहेका छन् । स्थानीय प्रतिनिधिबाट कुल ३९२४ मत आउनेछ । त्यस्तै प्रादेशिक सांसदबाट प्रत्यक्ष ५२ र समानुपातिक ३५ जना गरी कुल ८७ जनाको ४१७६ मतभार गरी यस प्रदेशमा जम्मा मतसंख्या ८१०० छ ।
यस प्रदेशमा न्युनतम १ सिट जित्न २७०२ मत चाहिन्छ । यहाँ एमालेको ३५८८, कांग्रेसको २०६४, माओवादीको १६९८, फोरमको ४३८, राप्रपाको ३६, जनमोर्चाको ७२, जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकको ३६, नयाँ शक्ति नेपालको ६६ र अन्य स्वतन्त्रको १०२ मत रहेको छ । यस प्रदेशमा वामगठबन्धनको ३५८८+१६९८ गरी जम्मा ५२८६ रहेको छ ।
राष्ट्रिय सभामा पठाउने कुल ८ सदस्यमध्ये बहुमतीय पद्दतिबाट छानिने २ जना वाम गठबन्धनकै हुनेछन् ।
तर, एकल संक्रमणीयबाट छान्ने ६ जनामध्ये गठबन्धनले २ महिला र दुई अन्य गरी ४ जना र काँग्रेसले १ महिला र १ अन्य गरी २ जना सदस्य पाउने संभावना रहेको छ ।
प्रदेश ६
प्रदेश नं ६ मा कुल ७९ स्थानीय तहबाट १५८ जना प्रतिनिधि आउनेछन । उनीहरुको मतभार ३८४४ रहेको छ । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष २४ र समानुपातिक १६ जना गरी कुल ४० जना प्रादेशिक सांसदको १९२० गरी यस प्रदेशमा जम्मा ४७६४ मत रहेको छ ।
यस प्रदेशमा नेपाली कांग्रेसको १०२६, नेकपा एमालेको २००४, माओवादीको १५४२, र अन्यको १९२ मत रहेको छ ।
यस प्रदेशमा राष्ट्रिय सभामा निर्वाचित हुन ११९२ मत हुन आउँछ । वामगठबन्धनको पक्षमा २००४+१५४२ गरी ३५४६ मत र चार स्वतन्त्रको ७२ मत पनि थप गर्दा गठबन्धनको पक्षमा ३६१८ मत हुन आउँछ । यसरी हेर्दा प्रदेश नं.६ मा वामगठबन्धनकै दुईतिहाई वहुमत भएको हुँदा राष्ट्रिय सभामा पठाउने कुल ८ सदस्यमध्ये बहुमतीय पद्दतिबाट छानिने २ र एकल संक्रमणीयबाट छान्ने ६ जना गठबन्धनले नै लैजाने देखिन्छ । यो प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना अत्यन्त कम रहेको छ ।
प्रदेश ७
यस प्रदेशमा ८८ स्थानीय तहबाट १७६ जना प्रतिनिधि आउनेछन । उनीहरुको मतभार १८ ले गुणा गर्दा ३१६८ हुन आउँछ । त्यस्तै प्रत्यक्ष ३२ र समानुपातिक २१ जना गरी कुल ५३ जना प्रादेशिक सांसदलाई ४८ ले गुणा गर्दा आउने २५४४ मत गरी यस प्रदेशमा जम्मा ५७१२ मतसंख्या रहेको छ ।
जसमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको गरी १८७२+३६ गरी १९०८ मत रहेको छ । त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रको २६९४+१०१४ गरी ३७०८ गठबन्धनको मत रहेको छ । र, राष्ट्रिय जनता पार्टी, नेपालको ९६ मत रहेको छ ।
यस प्रदेशबाट निर्वाचित हुन चाहिने न्युनतम मतसंख्या १४२९ हो । यस प्रदेशमा नेपाली कांग्रेसले १ सिट जित्न चाहिने न्युनतम मत संख्या कटाएको छ । यस आधारमा यस प्रदेशबाट उसले खुला र महिलातर्फका १–१ सिट जित्ने सम्भावना छ । बाँकी ४ सिट एकल संक्रमणीय निर्वाचन र २ सिट वहुमतीय प्रणालीबाट गरी ६ सिट वामगठबन्धनले नै लिने देखिन्छ ।
निष्कर्ष
एक जना दलित, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमध्येबाट छानिने १४ सिट वहुमतीय प्रणालीबाट छानिने छ । त्यसमध्ये १ र ३ नं. प्रदेशमा ४ सिट नेकपा एमालेले एक्लै लिने अवस्था रहेको छ । त्यस्तै ४, ५, ६ र ७ प्रदेशबाट ८ जना वामगठन्धनले लिनेछन् । प्रदेश नं. २ मा नेक/राजपा/संसफो वा वामगठबन्धन/राजपा/संसफोले २ सिट लिनेछन् । यसरी १४ मध्ये १२ सिट गठबन्धनको सुनिश्चित देखिएको हो ।
त्यस्तै ३ महिला र ३ अन्य मध्येबाट प्रदेश नम्बर १,३,४,५,७ मा नेपाली कांग्रेसले १ महिला र १ अन्य गरी जम्मा १० सिट जित्ने संभावना रहेको छ । त्यस्तै ती प्रदेशमा २ महिला र २ अन्य गरी २० सिट गठबन्धनको पक्षमा देखिएको छ । प्रदेश नं ६ मा वामगठबन्धनको ६ वटै सिट सुनिश्चित देखिएको छ ।
प्रदेश नं २ को हकमा राजपा/संसफोले १ महिला र १ अन्य गरी २ सिट, वामगठबन्धनले १ महिला र १ अन्य गरी २ सिट लिने देखिन्छ । त्यस्तै २ सिटको हकमा भने नेका/राजपा/संसफो मिलेमा १ महिला र १ अन्य वा वामगठबन्धन/राजपा/संसफो मिलेमा १ महिला, १ अन्य लिने देखिएको छ ।
यसरी एकल संक्रमणीय निर्वाचनबाट राष्ट्रिय सभाको निर्वाचनको लागि छानिने सांसदहरुमा ४२ मध्ये ३० सिट र बहुमतीय प्रणालीबाट छानिने १४ मध्ये १२ सिट वामगठबन्धनको पक्षमा सुनिश्चित जस्तै बनेको छ भने नेपाली कांग्रेसले १० सिट जित्ने संभावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस