रियल म्याड्रिड ३५ करोड युरो तिरेर नेयमारलाई भित्र्याउन तयार

एजेन्सी

शनिबार, २५ फागुन २०७५, १७ : ५७
रियल म्याड्रिड ३५ करोड युरो तिरेर नेयमारलाई भित्र्याउन तयार

स्पेन । खराब दौरबाट गुज्रिरहेको रियल म्याड्रिडलाई पुनः लयमा फर्काउन क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा ब्राजिलियन स्टार नेयमारलाई भित्र्याउने तयारी गरेका छन् ।
पीएसजीका स्टार खेलाडीलाई अहिलेसम्मकै महङ्गो ग्यालिक्टोका रुपमा भित्र्याउन पेरेजले तयारी गरेको स्पेनिस पत्रिका स्पोर्टले दाबी गरेको छ ।

पत्रिकाका अनुसार रियल नेयमारका लागि ३५ करोड युरो खर्च गर्न तयार रहेको छ । यसका लागि क्लबले नेयमारसँग छलफल पनि शुरु गरिसकेको बताइएको छ ।

आफ्नै घरेलु मैदानमा एक हप्ताको अन्तरालमा बार्सिलोना र आयाक्ससँग लिग, कप र च्याम्पियस् लिगमा लज्जास्पद पराजय बेहोरेपछि परेज पुनः आफ्नो ग्यालेक्टिको नीतिमा फर्कन लागेका हुन् ।

क्रिस्टियानो रोनाल्डो क्लब छाड्न दिएपछि पेरेजको क्लबमा चर्को आलोचना भइरहेको छ । त्यसलाई शान्त पार्न पनि पेरेजले यो कदम चाल्न लागेको बताइएको छ ।

यो स्थानान्तरण सफल भए कुनै पनि खेलाडीका लागि खर्च गरिएको सर्वाधिक रकम हुनेछ । त्यस्तै, प्रत्येक सिजन तलबका रुपमा नेयमारले ४.५ करोड युरो प्राप्त गर्ने बताइएको छ । जसले उनलाई विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी पनि बनाउने छ ।

नेयमारलाई २२.२ करोड युरो खर्च गरेर पीएसजीले क्लबमा भित्र्याएको थियो । उनको क्लबमा अझै पनि तीन वर्षको करार रहेको छ ।

समाचारका अनुसार उनले रियलसँग ५ वर्षको करार गर्ने छन् ।

यसअघि रियलले कायलिन एम्बाप्पेलाई क्लबमा भित्र्याउने प्रयास गरेको बताइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस