१२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने

सफल खबर संवाददाता

बुधबार, २२ फागुन २०७५, १८ : ५०
१२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने

काठमाडौं । आगामी वर्ष नेपालमा १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता २०७६ साल असार ५ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको हो ।

नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघको आयोजनामा २०७६ सालको असारमा प्रतियोगिता आयोजना हुने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

१२औं संस्करणसम्म आइपुग्दा नेपालमा तेस्रो पटक प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा शारीरिक सुगठनतर्फ विभिन्न ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरूष फिटनेस फिजिक्समा दुई र महिला एथ्लेटिक फिजिक्समा दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरूष फिटनेस र महिला एथ्लेटिक्स विधा पहिलो पटक समावेश भएको नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघले जनाएको छ ।

शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेसमा १७० सेमी र सो भन्दा माथि तथा महिला एथ्लेटिक फिजिक्समा १६५ सेमी र सो भन्दा माथिको उचाई समूहमा प्रतिस्पर्धा हुनेछ ।

आयोजकका अनुसार चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन खेलाडीहरु आउने र दर्ता गरिने छ । प्रि जजिङ र फाइनल चरणका खेल असार ६ र ७ गते हुनेछन् । ८ गते विदेशी खेलाडीहरु स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

दक्षिण एसियाली शारीरिक सुगठनका लागि नेपाली खेलाडीको छनोट २०७६ साल वैशाख २० र २१ गते हुने सातौं मिस्टर हिमालयको विजेताबाट छानिने नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले जनाएको छ ।
मिस्टर हिमालयमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई दक्षिण एसियाली स्तरको प्रतियोगिताको लागि छनोट गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस