काठमाडौं क्षेत्र नं १ मा कसले मार्ला बाजी ?

शुक्रबार, २४ कार्तिक २०७४, १८ : ४१
काठमाडौं क्षेत्र नं १ मा कसले मार्ला बाजी ?


चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी सुरु भएको छ । उक्त क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा ९एमाले० र नकेपा ९माओवादी केन्द्र०को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली कांग्रेस , बिपी बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।

महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् । पूर्व उप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहेका वाम गठबन्धनका उम्मेदवार शर्मा र बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रहेका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ । कांग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ । यस्तै नयाँ व्यक्ति र पार्टीका रूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्न सक्ने अड्कल छ ।

उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ । सिंह कांग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका छोरा हुन् भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री हुँदा विद्युत्‌भार कटौती गरेर चर्चा कमाएका जनार्दन शर्माका भाइ । यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो ।

एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, कांग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ तर पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ ।

 

 

प्रतिक्रिया दिनुहोस