‘मनमा घण्टी बजाउने केटाको पर्खाइमा छु’

मंगलबार, १४ फागुन २०७५, १९ : २५
‘मनमा घण्टी बजाउने केटाको पर्खाइमा छु’

एक समय नेपालका ‘रोना धोनावाला’ फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह। फिल्म ‘दक्षिणा’ बाट नेपाली सिनेमामा प्रवेश गरेकी उनले त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन्। उनले अभिनय गरेका ‘आफ्नो मान्छे’, ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’ लगायत फिल्म हिट छन्।

तपाईंलाई गर्न मन लागेको त्यस्तो कुनै ‘ड्रिम रोल’ छ ?
यो नै भन्ने त छैन। तर, मेरो उमेरको हिसाबले मिल्ने खालको रोल आयो भने गर्छु। अब मैले कलेजको टिनेजर केटीको रोल गर्न मिल्दैन। भारतीय फिल्म ‘मम’, ‘हेलिकप्टर इला’, ‘इंग्लिस विंग्लिस’ टाइपको फिल्म आयो भने गर्छु।

समयसँगै तपाईंको रोलमा पनि ‘सिफ्ट’ आयो है। टप हिरोइन हुँदाहुँदै अहिले आमाको भूमिका गर्नुपरेको छ। मानसिक रूपमा आफूलाई त्यो चिजमा ढाल्न कत्तिको गाह्रो वा सजिलो भयो ?
यो कुरामा कन्भिन्स्ड हुन मलाई पटक्कै गाह्रो भएन। ‘दर्पण छायाँ’ गर्नुभन्दा अगाडि नै ‘१६ वर्षे जोवन’ भन्ने फिल्ममा मैले दिलिपजीको आमा भएर काम गरिसकेकी थिएँ।

मैले ‘खानदान’मा राजेश हमालको पनि आमा बनेर खेलेकी छु। अरू पनि थुप्रै फिल्म छन् जहाँ मैले आमाको भूमिकामा काम गरिसकेकी छु। दिदीबहिनी, आमा मलाई जे बन्न पनि समस्या छैन तर फिल्ममा मेरो सार्थकता हुनुपर्‍याे बस्।

‘दर्पण छायाँ’लाई उत्तम प्रधान र तपाईं मिलेर फेरि ‘रिमेक’ गर्ने भन्ने कुरा आइरहेका छन्, साँचो हो ?
हो। उत्तमजी एकदमै क्रिएटिभ हुनुहुन्छ। उहाँले त्यो सोच बनाउनुभएको छ। ‘दर्पण छायाँ’को स्टोरी जहाँसम्म पुगेर सकियो, त्यहीँबाट फेरि नयाँ स्टोरी सुरु गर्ने भएका छाैँ। कथाको कन्सेप्ट उहाँले मलाई फोन गरेर सुनाउनुभएको थियो। मलाई पनि एकदमै राम्रो लाग्यो। त्यो फिल्ममा पनि दिलिप, उत्तम र म तीनै जना हुन्छौँ।

तपाईंको जेनेरेसनको सबै हिरोइन आ–आफ्नो ठाउँमा सेटल भइसक्नुभयो। तपाईंहरूको बीचमा कत्तिको कुराकानी हुन्छ ?
अरूसँग खासै हुँदैन। जलसँग बेला–बेलामा फोनमा कुरा हुन्छ। विपनासँग धेरै वर्ष भइसक्यो भेटघाट नै छैन। त्यो समयका सबै जनासँग एकचोटि भेट्ने इच्छा छ। त्यो बेला सबै जना आ–आफ्नै काममा व्यस्त भइन्थ्यो। नजिक भएर होला खासै मतलब पनि हुँदैनथ्यो। अहिले ती दिन साह्रै मिस हुन्छ।

मुम्बईमा  बस्दा नेपालबारे जानकारी कसरी राख्नुहुन्छ ? कि मतलब नै हुँदैन ?
हैन, हैन। किन मतलब नहुनु। चिनजानको व्यक्ति यहाँबाट उता गएको थाहा पाएपछि भेट्न जान्छु। उहाँहरूसँग यताको बारेमा सोधिरहन्छु। उताकै साथीहरूलाई पनि ‘हेर, हाम्रो नेपाली फिल्म यस्तो हुन्छ’ भन्दै देखाइरहन्छु। उता बस्दा यताको धेरै कुरा मिस गर्छु। आफ्नै पुराना फिल्म हेर्दा सपना जस्तो लाग्छ। त्यत्रो काम मैले नै गरेको हो र ? भन्ने लाग्छ।

सानै उमेरमा फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो, पहिलादेखि नै कलाकार बन्छु भन्ने थियो ?
पढेर यस्तो मान्छे बन्छु भनेर मैले कहिल्यै सोचिनँ। सानैदेखि हिरोइन बन्ने रहर मभित्र पसेको थियो। घरमा बस्दा पनि टिपटप भएर हिरोइन जस्तै बस्नुपथ्र्यो मलाई। परिवारमा सबैलाई यो कुरा थाहा थियो। माइली दिदीले हिरोइन बन्न सधैँ उक्साइरहनुहुन्थ्यो।

यहाँ प्रदर्शन भएको धेरैपछि मात्रै दार्जलिङमा नेपाली फिल्म पुग्थ्यो। नेपाली फिल्म लागेको बेला हामीलाई दशैँ आएको जस्तै हुन्थ्यो। हिरोइनमा तृप्ति दिदी र हिरोमा भुवन दाइलाई मात्र चिन्थेँ। स्कुल पढ्दाताका आफन्तको माध्यमले फिल्मको लागि अफर आयो। मेरो फोटो पढाइदिने कुरा भयो। त्यो बेलामा फोटोसुट गर्ने चलन पनि थिएन।

जस्तो थियो त्यस्तै फोटो पठाएँ। उहाँहरूले मन पराउनुभयो। पछि घरमै आएर तुलसी दाइ (तुलसी घिमिरे)ले हेर्नुभयो र मलाई ‘दक्षिणा’का लागि लिनुभयो।

कारण पनि त छ नि ! तपाईं अहिलेसम्म एक्लै हुनुहुन्छ, जोडी बाँध्नुभएको छैन ?
आयो है कुरा आयो। मिंगल हुनलाई पर्खेर बसिरहेकी छु। को आउँछ थाहा छैन।

तपाईंलाई मन पराउने धेरै छन्, तपाईंले मन पराउने भेटिन चाहिँ किन यति गाह्रो भएको ?
जुन मान्छेसँग बिहे हुनु छ त्यो मान्छे जीवनमा आएपछि अटोमेटिकल्ली आफूलाई फिल हुन्छ होला। अहिलेसम्म त्योे खालको फिलिङ्स नै कसैसँग आएको छैन। ‘ल है योसँग चाहिँ बिहे गर्छु’ भनेर भित्र मनबाट आए पो !

बिहेप्रति नै वितृष्णा त होइन नि ?
होइन, होइन। म बिहे नै गर्दिनँ भन्ने पक्षमा छैन। तर, ‘ही इज द वान’ भन्ने खालको व्यक्ति नै जीवनमा आएन। मनमा घण्टी नै बजेन। त्यसैको पर्खाइमा छु। सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस