नेपाल अघिल्लो चरणमा पुग्ने गणितीय सम्भावना मात्र बाँकी

मंगलबार, १४ फागुन २०७५, १२ : १९
नेपाल अघिल्लो चरणमा पुग्ने गणितीय सम्भावना मात्र बाँकी

– कुमार चौलागाईं 
काठमाडौँ (रासस) । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ । 

प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचवटामै जित निकाल्दै १० अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । 

नेपालका लागि थाइल्याण्डसँगको हार अघिल्लो चरण प्रवेशका लागि बाधक बन्ने देखिन्छ । ‘क्वालिफायर’मा युएईले पनि पाँच खेलमा चार खेल जित्दै आठ अङ्क जोडेको छ । नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएइ नेपालसँग पराजित भएको थियो । समान अङ्क भए पनि रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । 

अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएईबीच खेल हुनेछ । यस्तै नेपालले कुवेतसँग खेल्नेछ । अब नेपाल छनोट हुने सम्भावना भनेको गणितीय हिसाबमा मात्र बाँकी छ । थाइल्याण्ड र युएईबीच हुने खेल युएईले झिनो अन्तरले जित्न सके र नेपालले कुवेतलाई फराकिलो अन्तरमा पराजित गर्नसके मात्र नेपाल अघिल्लो चरण पुग्नेछ । 

नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनी थाइल्याण्डलाई पनि युएईले पराजित गरेमा तीन टोलीको समान १० अङ्क हुनेछ । यस्तो अवस्थामा राम्रो रनरेट हुने टोली पहिलो बन्दै टि–२० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस्तो अवस्थामा नेपालले बुधबार हुने खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउनेपर्ने हुन्छ भने थाइल्याण्डको हारको कामना पनि गर्नुपर्नेछ । 

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टि–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले थाइल्याण्डसँगको हार नेपालका लागि छनोटमा बाधक बनेको प्रतिक्रिया दिनुभयो । “यो पटक हामीलाई थाइल्याण्डसँग अघिल्लो महिना बेहोरेको हारको बदला लिने अवसर थियो, त्यसमा सफल हुन नसक्दा ग्लोबल क्वालिफायर छनोट कमजोर बन्यो”, दासले भन्नुभयो । 

नेपाल महिला राष्ट्रिय टोली अघिल्लो महीना थाइल्याण्डमै भएको टि–२० स्म्यास क्रिकेटको फाइनलमा पनि थाइल्याण्डसँगै पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा अपराजित रहँदै नेपालले फाइनलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । 

अहिलेसम्मको खेल तालिका यस प्रकार रहेको छ । 

टोली    खेल    जित हार    अङ्क    नेट रनरेट 
थाइल्याण्ड    ५    ५    ०    १०    ३.४४९ 
संयुक्त अबर इमिरेट्स (युएई)    ५    ४    १    ८    १.८४३ 
नेपाल    ५    ४    १    ८    ०.३४५ 
चीन    ६    ३    ३    ६    ०.३३७ 
हङकङ    ५    १    ४    २ –०.६५३ 
मलेसिया    ५    १    ४    २    –१.८७९ 
कुवेत    ५    ०    ५    ०    –३.७५३ 

प्रतिक्रिया दिनुहोस