मेयर पक्ष र उपमेयर प्रतिपक्ष हुनै सक्दैन : दाहाल

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १६ : ३७
मेयर पक्ष र उपमेयर प्रतिपक्ष हुनै सक्दैन : दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले एउटै सत्तामा रहेका मेयर र उपमेयर पक्ष र प्रतिपक्ष नहुने बताउनु भएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरको बहुबर्षीय आयमूलक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।

दुई दिनदेखि सामाजिक सञ्जाल र पत्रपत्रिकामा उपप्रमुख पार्वती शाह र महानगरको बिषयमा चर्चा चलेको भन्दै उहाँले आफूले महानगरका कुनै पनि योजना तथा छलफलमा बायस र बेवास्ता नगरेको प्रष्ट्याउनु भयो । ‘केन्द्र र संसदमा प्रतिपक्ष हुन्छ तर स्थानीय निकायमा यसो हुनै सक्दैन’ उहाँले भन्नुभयो। मन्त्रीमण्डलमा पनि प्रधानमन्त्री र उपप्रधानमन्त्री पक्षविपक्ष नहुने भन्दै उहाँले भन्नुभयो, ‘स्थानीय सरकारमा हामी दुई संगै भएकोले हामीबीच पनि पक्ष र प्रतिपक्ष हुँदैन । संविधानले पनि स्थानिय सरकारमा पक्ष र विपक्षको व्यवस्था नगरेकोले हामी सबै सत्ता पक्षको हो ।’

‘सामाजिक सञ्जालमा आएजस्तो हाम्रो मतान्तर छैन’ दाहालले भन्नुभयो, ‘यो कर्मचारीसंगको बिषय हो । नयाँ परिवेशमा नयाँ सरकार सञ्चालनको नयाँ अभ्यासमा काम गर्दै जाँदा नयाँ ढंगले अगाडि बढ्दै जानु परेकोले जटिलता र चुनौती थपिएको र केही समस्याहरु पनि रहेकोले यसलाई नबल्झार्इ, नतन्कार्इ मिलेर समाधान गर्न म सदैव तयार छु ।’

कार्यक्रममा बोल्दै भरतपुर प्रमुख दाहालले भरतपुर महानगरपालिका सबैखाले बिकासमा अगाडी बढिरहेको र विकासको मोडल हेर्न दुई वर्ष लाग्ने बताउनु भयो । उहाँले वडा नम्बर २१ ले सबै योजनाहरु सम्पन्न गर्न सफल भइरहेकोमा बधाई समेत दिनुभयो । महानगरले एउटा औद्योगिक क्षेत्र निर्माण गर्ने सोचका साथ अगाडि बढ्दै जाँदा वडा नम्बर २१ मै पाँच बिघा जग्गा प्रस्तावित भएको र प्रकृया अगाडि बढेको बताउनु भयो ।

भरतपुर महानगरपालिका वाड नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीले १९ महिनामा अन्य महानगरको तुलनामा भरतपुर महानगर तीव्र विकासमा अगाडि बढेको बताउनु भयो । उहाँहरूले हामी बिचमा सद्भाव र सल्लाह भएको र केही मतान्तर भए घरभित्रको समस्यालाई घरभित्र मिलाएर अघि बढ्नु पर्ने बताउनु भयो ।

पाँचतले आयमुलक भवन बहुवर्षीय योजना रहेको र असार मसान्तसम्ममा काम सम्पन्न भइसक्ने गरी योजना अघि बढिरहेको छ । शुरुमा एकतले भवन निर्माण हुनेछ, जसमा सात वटा व्यावसायिक पसल रहने बताइएको छ । करिब ९० लाखमा पहिलो योजना सम्पन्न हुने बताइएको छ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर आठ, उन्नाइस र पच्चीसका अध्यक्षहरु दामोदर न्यौपाने, कर्णबहादुर गुरुङ र विजय भुजेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । भवन शिलान्यास कार्यक्रममा उपस्थित सबैलाई भरतपुर महानगरपालिका वाड न २१ की सदस्य शान्ति पराजुलिले स्वागत गर्नु भएको थियो भने । वडा सचिव पञ्चमाया तामाङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस