नेपालका दुई स्टार अनमोल केसी र प्रदीप एउटै फिल्म खेल्दै

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १३ : १६
नेपालका दुई स्टार अनमोल केसी र प्रदीप एउटै फिल्म खेल्दै

काठमाडौँ । नेपाली सिने क्षेत्रमा दुई नक्षेत्र अनमोल केसी र प्रदीप खड्का अब एउटै फिल्म खेल्ने भएका छन् । नेपाली चलचित्र क्षेत्रलाई यहाँ ल्याई पु¥याउन यी दुईको हात महत्वपूर्ण मानिन्छ । नेपाली फिल्म नरुचाउने दर्शकलाई पनि यी दुई अभिनित फिल्मले हलसम्म जाने वातावरण बनाएका छन् ।
यसरी भनौं  नेपाली फिल्ममा प्रदीप र अनमोलकै साम्राज्य छ । यी दुईको चर्चासँगै डिमाण्ड पनि त्यतिकै छ । नेपाली दर्शकहरुले उनीहरुलाई नेपाली फिल्मका सलमान खान र शाहरुख खानको उपमा दिने गरेका छन् ।
केही वर्षमात्र भएको छ यी दुई नेपाली सिने क्षेत्रमा जम्न थालेको । करिब ६ वर्ष अगाडि अनमोल केसी ‘होस्टेल’ बाट चम्किए । त्यस्तै चलचित्र ‘प्रमेगीत’ ले नायक प्रदीप खड्कालाई स्थापित गरायो । दर्शकका अनुसार यी दुईलाई एक अर्काका प्रतिस्पर्धी भनेर पनि भन्ने गरिएको छ । दुई जना मध्य ‘को नम्बर वान?’ भन्ने विषयले पनि बेला बेलामा चर्चा पाउने गरेको पाईएको छ । तर अनमोल र प्रदीपले आफूहरुबीच कुनै प्रतिस्पर्धा वा मनमुटाव नरहेको बताउने गरेका छन् ।
एउटै क्षेत्रमा काम गर्ने भएपनि यस वर्ष ‘एनएफडिसी अवार्ड’ को समयमा यी दुईको भेट भएको थियो । मिडियाकर्मीले एकसाथ तस्वीर खिच्न आग्रह गरेपछि दुईले अंकमाल गर्दै केहीबेर कानेखुसी पनि गरेका थिए ।

यसपछि चर्चा हुन थाल्यो अब उनीहरुबीच स्टारडमको लडाइँ सकियो । तर, उनीहरुलाई प्रतिस्पर्धी बनाउन मिडियाले अझै छाडेको छैन । यसले उनीहरुका प्रशंसकबीच पनि तिक्तता बढेको बढ्यै छ ।

केही हप्ता अगाडि प्रदीपले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै प्रशंसा गरेका थिए । उनले अनमोल र आफूलाई दाजु-भाई समेत भने । त्यसको एक हप्तापछि अनमोलले पनि कमेन्ट गर्दै प्रदीपलाई धन्यवाद दिँदै फिल्म ’लभ स्टेशन’ का लागि शुभकामना दिए । उनीहरुले एकअर्काप्रति देखाएको सम्मानले चलचित्रकर्मी मात्र होइन उनीहरुका प्रशंसकहरु पनि दंग छन् ।

यसपछि फेरि सुरु भयो सिनेनगरीमा अनमोल र प्रदीपको मित्रताको चर्चा । केहीले उनीहरुको मित्रतालाई देखावटीको नाम दिए । केहीले सकारात्मक प्रयासको रुपमा लिए । तर, अब उनीहरु दुबैका प्रशंसक चाहन्छन् अनमोल र प्रदीप सँगै एउटै फिल्ममा देखिउन । दर्शक अहिले यही प्राथना गरेर बसिरहेका छन् । यसबीच प्रदीपले अनमोलसँग चाँडै फिल्ममा सहकार्य हुने सक्ने संकेत दिएका छन् ।
 
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’लभ स्टेशन’ को पखाईमा रहेका उनले हालै एक भिडियो अन्तर्वार्ताको क्रममा ढिलोचाँडो भए पनि अनमोल र आफू एउटै फिल्ममा देखिने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ’मसँग एउटा कन्सेप्ट छ, जसमा दुई एक्टर चाहिन्छ । अहिले हामी दुबै आ-आफ्नो काममा व्यस्त छौं त्यसले भेट हुन पाएको छैन । चाँडै यस विषयमा कुरा हुनेछ ।’
 
आफूहरुबीच स्वच्छ प्रतिस्पर्धा रहेको बताउँदै उनले अनमोल र आफूलाई एउटै फिल्ममा हेर्ने चाहना दर्शकहरुको पनि रहेको सुनाए । उनी भन्छन्, ’भेट एकदम कम भएको छ तर अनमोल र मबीचमा एकदमै राम्रो ’फ्रेण्डसिप’ छ । हामीहरु एकअर्काका प्रशंसक हौं । हामी दुबै एउटै फिल्ममा आउनु पर्छ भन्नेमा म मानसिक रुपमा तयार छु र उहाँ पनि सकारात्मक हुनुहुन्छ होला ।’
 
नेपाली फिल्मका दुई समकालिन सुपरस्टार एउटै फिल्ममा देखिएको खण्डमा फिल्मप्रेमी दर्शकलाई मात्र होइन समग्र फिल्म क्षेत्रका लागि पनि यो ठूलो खुसीको कुरा हुनेछ । अब यो साइत चाहिँ कहिले जुर्ने हो ? प्रतिक्षा गर्नुको शिवाय अरु विकल्प छैन । कामना गरौं, अनमोल र प्रदीपबीच चाँडै सहकार्य होस् ।

प्रतिक्रिया दिनुहोस