आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट भरतपुरमा सुरु, खेलकुदबाटै देशलाई चिनाउन सकिने मेयर दाहालको भनाई

सोमबार, ०६ फागुन २०७५, १५ : ०१
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट भरतपुरमा सुरु, खेलकुदबाटै देशलाई चिनाउन सकिने मेयर दाहालको भनाई

चितवन । सोमबारदेखि भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका का प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले खेलकुदको विकासले मात्रै देश समृद्ध हुने बताउनुभयो । “खेलकुदको मध्यमबाट नेपाल चिनाउन सकिन्छ । यो हाम्रो लागि सुनौलो अवसर हो ।”
प्रमुख दाहालले भरतपुर महानगरपालिका १५ मा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे विभिन्न नकारात्मक टिप्पणी हुन दुःखद भएको बताउनुभयो । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको क्रिकेट रंगशालामा सबैले सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।खेलकुदको विकासका लागि भरतपुर महानगरपालिका नीतिगत र व्यवहारिक रुपमा यसको कामलाई अगाडि बढाई रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य तथा प्रदेश ३ का संयोजक सुदिल शाहीले यस्ता प्रतियोगिताले खेलकुद विकासमा टेवा पुग्ने बताउनु भयो । रत्नननगर नगरपालिकाका प्रमुख नारायण वनले खेलकुदको मध्यमबाट शारीरिक र मष्तिसकलाइ ताजगी प्रदान गरी सकारात्मक बाटो लाग्न सकिने बताउनुभयो ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर ३ को छनौट भरतपुरमा हुन लागेको हो । प्रतियोगितामा प्रदेश नम्बर ३ का १३ जिल्लाबाट तीन हजार ९२ प्रतियोगिहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवनमा एथलेक्टिस र उसु खेलको छनौट हुनेछ भने अन्य खेलहरु प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा आयोजना हुने लामाले बताउनुभयो ।
छनौट प्रतियोगिता अन्तर्गत नुवाकोटमा पुरुष फुटबल, सिन्धुपाल्चोकमा महिला फुटबल र काठमाडौंमा भारोत्तोलन, क्रिकेट, बास्केटबल, टेबलटेनिस, लङटेनिस लगायतका खेल हुने लामाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस