दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भन्नुभयो ।
देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्मा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा काङ्ग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।
फरक प्रसङ्गमा नेता पौडेलले काङ्ग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताउनुभयो । वर्तमान कार्यसमितिलाई म्याद थप्ने अधिकार नभएको भन्दै पौडेलले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस