रक्षामन्त्री पोखरेलको नजरमा प्रचण्ड सुझबुझ भएका बुद्धिमान नेता

शनिबार, ०४ फागुन २०७५, १३ : २५
रक्षामन्त्री पोखरेलको नजरमा प्रचण्ड सुझबुझ भएका बुद्धिमान नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष प्रचण्ड आफ्नो आदरणीय र बुद्धिमान नेता भएको बताएका छन् ।

प्रचण्डसँग आफ्नो राम्रो सम्बन्ध भएपनि बीचमा खेल्न खोजिएको पोखरेलले संकेत गरेका छन् । एउटा टेलिभिजन अन्तर्वार्तामा पोखरेलले भनेका छन्, ‘प्रचण्ड मेरो आदरणीय अध्यक्ष हो, उहाँको निवासमा म जान्छु, सञ्चो बिसञ्चोमा सँगै छु, उहाँहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । कसले हल्ला गरिराख्या छ, म बुझ्दिनँ । हाम्रो मन र मत दुवै मिलेको छ । यसमा अनावश्यक हल्ला जरुरी छैन ।’

पोखरेलले थपे, ‘प्रचण्ड भनेको सुझबुझ भएको अत्यन्तै बुद्धिमान नेता हो । म उहाँलाई आदर गर्छु । प्रचण्ड कमरेडले सधैं सरकारको प्रतिरक्षा गरिरहनुभएको देख्छु । अहिले प्रधानमन्त्री फेर्नेबारे कुरा गर्ने बेला भएको छैन । सरकारबारे पार्टीले आवश्यक निर्णय गर्ला, यो मैले भन्ने कुरा होइन । सरकार र सरकारको भविष्यबारे कुनै अलमल छैन ।’ 
भेनेजुयला प्रकरणबारे पोखरेलले थपे, ‘भेनेजुयला प्रकरणमा नेकपा चुकेको छैन । नेकपाको सचिवालयले भेनेजुयलाबारे आधिकारिक वक्तव्य जारी गरेको छ, त्यही आधिकारिक हो । प्रचण्डको वक्तव्य अनुसार नै सचिवालयको बैठक आएको हो । भेनेजुयलाबारे पार्टामा कुनै विवाद छैन । सचिवालयले बोल्यो, सकियो ।’ 

रक्षामन्त्री पोखरेलले भने, ‘प्रचण्ड मेरो आदरणीय अध्यक्ष हो । मैले दुवै अध्यक्षलाई सम्मानका साथ हेर्छु । २ जना अध्यक्षहरुले बडो सुझबुझका साथ पार्टी अगाडि बढाइ रहनुभएको छ । कुनै पनि कम्युनिष्ट पार्टीका नेता आवेग उत्तेजनामा चल््दैनन् । हामी स्वतन्त्र देश हौं, हाम्रो आफ्नै परराष्ट्र नीति छ । सरकार र पार्टीको सचिवालयको निर्णय हाम्रो परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अनुसार नै आएको हो, यसमा भ्रममा नपरौं ।’ पार्टीको महाधिवेशन र नेतृत्वबारे नेता पोखरेलले भने, ‘महाधिवेशनको विषयमा त्यति बेलै खुला छलफल गर्छाैं । परिस्थिति, माग र सन्दर्भअनुसार नेतृत्वमा छलफल होला । प्रचण्ड र माधव नेपाल मभन्दा धेरै सिनियर नेताहरु हो, नवौं महाधिवेशनमा एमालेमा निर्वाचन भयो, त्यसले भर्टिकली विभाजन ग¥यो । तर, हामीले मिलायौं । फेरि पनि सहमतिमै मिलाउँछौं । महाधिवेशनको नेतृत्वबारे हामी त्यतिबेला नै वैज्ञानिक निर्णयमा पुग्छौं ।’ 

पार्टा एकताको प्रक्रियाबारे उनले भने, ‘पूर्ण भन्ने चीज कहीँ पनि हुँदैन । पार्टी एकता पनि पूर्ण भइसक्यो भन्ने छैन । तर, हामी त्यसैका लागि प्रयासरत छौं । हामीले हिजो आफ्नै अभ्यास गरेका छौं, त्यसका केही अवशेष छन तर, हामी नारायणी भइसक्यौं । हामी त्रिशुली र सेती छैनौं । फेरि सेती, फेरि गण्डकी हुन सम्भव छैन । हामी महासागर भइसक्यौं ।’
सरकारको एक वर्षे कार्यकाल उपलब्धिमूलक भएको पोखरेलले बताए । उनले भने, ‘नेपालमा संविधानसहित ३३९ कानून छन । हामीले प्रणाली परिवर्तन भएको राजनीतिक घोषणा ग¥र्यौं  संवैधानिक घोषणा गर्याैं, अब कानूनी घोषणाको प्रक्रियामा छौं । फागुन २० सम्म सबै कानून बनाइसक्छौं, सकेनौं भने विशेष व्यवस्था गर्छाैं ।’ 

सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा रहेको उनले दावी गरे । पोखरेलले भने, ‘सन २०१७ को भ्रष्टाचारको आँकडा प्रस्तुत गरेर सरकारमाथि आक्रमण गरियो । त्यो ओली सरकारका पालामा भएको कुरा होइन । प्रधानमन्त्रीले शून्य सहनशीलताको नीति लिनुभएको छ । भ्रष्टहरु कार्वाहीको दायरामा पनि आएका छन् । यसलाई हामीले सकारात्मक रुपमा पनि हेरौं ।’

वाइडबडी प्रकरणबारे पोखरेलले भने, ‘तपाईजस्तो पत्रकारले भ्रष्टाचारको खास कुरा बुझ्नुभएन । वाइडीबडीलाई पनि पूर्वाग्रही ढंगले व्याख्या गरियो । शेरबहादुरजीले भनेअनुरुप नै हामीले छानविन समिति बनाएका छौं । तपाईहरुले यसको श्रृङ्खलावद्ध अनुसन्धान गर्नुस । कांग्रेसले न्यायिक आयोगको माग ग¥यो, हामीले त्यहीअनुरुप आयोग बनायौं ।’ 

उनले थपे, ‘वाइडबडी प्रकरणमा अहिले शेरबहादुरजी र अरु नेताहरु पनि मौन हुनुहुन्छ । यसको कारण अलि गहिरो देख्छु । उहाँहरु आयोगमा सहमत भएर हो कि अरु रहस्य छ ? छानविन आयोगले जे प्रतिवेदन दिन्छ, हामी त्यही अनुरुप कार्वाही गर्छाैं । मन्त्री मात्र नभएर महामन्त्री भए पनि कार्वाही हुन्छ ।’
 

प्रतिक्रिया दिनुहोस