घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकको राजीनामा

शुक्रबार, ०३ फागुन २०७५, १७ : ३४
घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकको राजीनामा

काठमाडौँ । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसबाट बच्न राजीनामा दिएका हुन् । तर, भ्रष्टाचार जस्तो जघन्य विषयमा महाअभियोग वा राजिनामालाई भ्रष्टाचारी उम्कने बाटो बन्न दिन नहुने जानकारहरू बताउँछन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका पूर्वअध्यक्ष भरत थापा भन्छन,‘राजीनामा वा महाअभियोग लाग्दैमा कुनै पनि व्यक्तिले गरेको अपराधमा माफी दिन मिल्दैन ।’संवैधानिक व्यवस्थाअनुसार पनि थप छानविन बाध्यात्मक हुने थापा बताउँछन् । पदबाट हटिसकेपछि पनि विवादित व्यक्तिको विषयमा सार्वजनिक उजुरी आह्वान गर्नुपर्नेमा उनको जोड छ ।
एउटै शैक्षिक संस्थासँग जोडिएको भ्रष्टाचार मिलाउन घुस लिएर राजीनामा दिन बाध्य भएका पाठकसँग जोडिएको यो नै पहिलो विवादित घटना भने होइन । ०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुल्लेआम घुस लिने गरेको उनका सहकर्मीहरू नै बताउँछन् ।
राष्ट्रपति कार्यालयका सचिव छविन्द्र पराजुलीका अनुसार आयुक्त पाठकले  राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम फागुन ३ गतेदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिएका हुन् ।
पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए । आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस