भ्यालेन्टाइन अनुभव : गिफ्ट लिँदा अप्ठ्यारो लाग्यो

विहीबार, ०२ फागुन २०७५, २० : २३
भ्यालेन्टाइन अनुभव : गिफ्ट लिँदा अप्ठ्यारो लाग्यो

एसएलसीपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं आएँ । पद्मकन्या कलेज, बागबजारमा पढ्न थालेँ । कलेज लाइफ सुरु भएपछि नै हो, मैले भ्यालेन्टाइन्स डेबारे सुनेको ।

स्कुले जीवन दाङमा बित्यो । स्कुलमा कहिल्यै भ्यालेन्टाइन्स डेबारे सुनिनँ । कलेजमा भने केटी साथीहरूले भ्यालेन्टाइन्स डे आउँदै छ, मन परेको मान्छेलाई प्रपोज गर्नुपर्छ, प्रेमीलाई गिफ्ट दिनुपर्छ भनेर सुनाउँथे । मलाई भने केही थाहा थिएन । सँगै पढ्ने केही साथीले आफ्ना प्रेमका किस्साहरू सुनाउँथे । कसैसँग लभ नपरेकाले मलाई चाहिँ मतलबै लाग्थेन ।

मैले भ्यालेन्टाइन्स डेबारे सुनेको वर्ष त्यत्तिकै बित्यो । अर्काे भ्यालेन्टाइन्स डे आउनुअघि नै मेरो सुनीलकुमारजीसँग बिहे भइसकेको थियो । पहिलोचोटि उहाँसँग नै भ्यालेन्टाइन्स डे मनाएँ । मलाई केही आइडिया थिएन । उहाँले नै ‘आज भ्यालेन्टाइन्स डे हो’ भनेर गिफ्ट ल्याइदिनुभएको थियो । के गिफ्ट थियो भन्ने बिर्सिएँ । त्यतिवेला मलाई अलि अप्ठ्यारो लागेको थियो । बिहेपछि पनि के होला यस्तो भन्ने अचम्म लागेको थियो । उमेर, सोच्ने–बुझ्ने क्षमता नै कम थियो । त्यसैले होला मलाई अप्ठ्यारो लागेको ।

त्यसपछिका वर्षमा हामीले सामान्य रूपमा भ्यालेन्टाइन्स डे मनाउने गरेका छौँ । एक–अर्कालाई ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भनेर शुभकामना र उपहार दिन्छौँ । प्रायः उहाँले नै पहिला विस गर्ने र गिफ्ट दिने गर्नुभएको छ । अघिल्लो राति १२ बजेसम्म पर्खिएर ‘विस’चाहिँ गर्ने गरेका छैनौँ । बिहान जतिवेला बिउँझियो, सम्झियो, त्यतिवेलै ‘विस’ गर्ने गर्दछौँ ।

बीचका केही वर्ष त भ्यालेन्टाइन्स डे आए–गएको थाहा नभई पनि बिते । म प्रायः सुटिङमै व्यस्त हुन्थेँ । उहाँ सधैँ आफ्नो बिजनेसमै व्यस्त । काठमाडौंबाहिर सुटिङ पर्दा कहिलेकाहीँ त महिनौँ भेट हुँदैनथ्यो । तर, पछिल्ला केही वर्ष भने एक–दुई हप्ताअघि नै भ्यालेन्टाइन्स डे आएको थाहा हुन्छ । मनाउने पनि गरेका छौँ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस