काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चन्दा उठाउने गरेको कुरा नौलो होईन् । पुसको पहिलो साता दैलेखको एक गाँउमा पार्टीका कार्यकर्ताहरुले स्थानीय सामुदायिक वन उपभोक्ता समिति, गाउँपालिकाद्वारा सञ्चालित विभिन्न विकास योजनाका समिति, ठेकेदार, शिक्षक, गाउँपालिका जनप्रतिनिधिसँग चन्दा उठाए । त्यति मात्र होईन उनीहरुले बार्षिक बजेटको दुई प्रतिशत (नेकपा) छुटाउन धम्की पनि दिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
‘अर्को वर्षदेखि बजेटको दुई प्रतिशत रकम आफ्नो पार्टीलाई दिनैपर्ने धम्की उनीहरूले दिएका छन,’ गाँउपालिका उपाध्यक्षले भनिन्।
विप्लव माओवादीका कार्यकर्ता यसरी कर्णाली प्रदेशका गाउँगाउँ पुगेर संगठन बनाउने, पैसा उठाउने र वैधानिक सत्तालाई चुनौती दिन थालेका छन्। गाउँलेलाई भन्ने गरेका छन्, ‘पुष्पकमल दाहाल नेतृत्वको माओवादीले क्रान्ति तुहायो, त्यसको लक्ष्य पूरा गर्न हामी होमिएका छौं।’
उनीहरूले अहिलेसम्म आफ्नो क्रान्ति शान्तिपूर्ण नै भए पनि राज्यले दमन गरे हतियार उठाउँछौ भन्ने गरेको ती उपाध्यक्षले बताइन्।
’हामी शान्तिपूर्ण रूपमा संगठन विस्तार र पार्टी सिद्धान्तको प्रचारप्रसार गरिरहेका छौं,’ माओवादी कार्यकर्तालाई उद्धृत गर्दै उनले भनिन् ‘राज्यले हामीलाई दमन र्गयो भने उसलाई त्यसैगरी जवाफ दिन्छौं।’
‘शान्तिपूर्ण क्रान्ति’ भने पनि उनीहरू गाउँमा हतियार नै लिएर हिँड्छन्।
दैलेखका ती गाउँलेलाई माओवादीको अघिल्लो सशस्त्र द्वन्द्वको झझल्को त्यतिखेर आयो जब सात दिन नबित्दै गाउँमा नेपाली सेनाको गस्ती पनि आयो।
झण्डै चार दर्जन सेनाका जवान क्याप्टेनको नेतृत्वमा गाउँ आए। उनीहरू पनि दुई दिन त्यही गाउँ बसे। वडा कार्यालयको हलमा सुते। गाउँलेहरूसँग त्यहाँ भइरहेका गतिविधिबारे कुरा गरे। सोधखोज गरे।
‘एकातिर हतियारसहित विप्लवका कार्यकर्ता, अर्को्तिर सेना गाउँमा आउँदा फेरि द्वन्द्व चर्किन लागेको हो कि भन्ने डर लाग्न थालेको छ,’ ती उपाध्यक्षले भनिन्।
संयोग हो वा विप्लव माओवादीका गतिविधिबारे जानकार भएर हो, गत साता सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र घुर्कीको शैलीमा भने, ‘माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। अर्को माओवादी जन्मिन्छ। झन् ठूलो लँडाइ हुनसक्छ।’
प्रतिक्रिया दिनुहोस