चितवन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव झन्डै १० वर्षपछि चितवनको सभामा प्रमुख अतिथिको रुपमा रहनुभएको छ । त्यो पनि अरुको सभा हो र, शिक्षाको सभा । उहाँ आफैँ भैँसी चराउँदै पढ्नुभएको किसानको छोरो । कसरी डाक्टर हुनुभयो ? सभामा उहाँले खुलस्त पार्नुभयो ।
सभा थियो, भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा रहेको लक्ष्मी माविको ५५ औं वार्षिकोत्सव । पूर्वराष्ट्रपति डा यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
‘किसानको छोरो डाक्टरसम्म पुगेर नेपालको पहिलो राष्ट्रपतिसम्म भएको मान्छेलाई शिक्षाको कार्यक्रममा बोलाउनुभयो मलाई खुसी लागेको छ’ राष्ट्रपति यादवले भन्नुभयो । उहाँले मन्तव्यको क्रममा नजिक रहेकी एक स्कुले नानीलाई सोध्नुभयो, ‘नानी तिमी भन त अछाम कता पर्छ ?’ स्कुले नानीबाट जवाफ आएन, जानेर हो, वा नजानेर ।
डा यादवले स्कुल नानी नबोलेपछि भन्नुभयो, ‘देख्नुभयो, अहिलेका पुस्तालाई ज्ञान नै छैन, शिक्षकहरुले के सिकाउँछन् खै सभामा हाँसो छरियो । डा यादव आफ्नो बाल्यकाल सुनाउन थाल्नुभयो । उहाँले प्रश्न सोधेको स्कुले नानीतर्फ हेर्दै भन्नुभयो, ‘तिम्रो उमेरमा त म एक कक्षा पनि पढ्न पाएको थिइनँ होला, १६ वर्षमा म पढ्न जान थालेको, कसरी डाक्टर भएँ थाहा छ ?
उहाँले भैँसी चराउँदै पढेको इतिहास खोल्नुभयो । ‘मिहिनेत लगाव हुनुपर्छ, अहिलेको नयाँ पुस्ता मिहिनेत गर्दैनन् कहाँबाट ज्ञान पढ्छ, पढ्न प¥यो नि !’ उहाँले मञ्चबाट शिक्षकहरुलाई मिहिनेत गरेर पढाउन भन्नुभयो । उहाँले मञ्चमा बोलेपिच्छे हाँसो फुटेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा राजनीतिक पार्टी प्रतिनिधि र प्रदेश सांसदसमेतको उपस्थित थियो । उहाँले भन्नुभयो, ‘विद्यालयको कार्यक्रमलाई राजनीतिक मञ्च नबनाउनूस्, विद्वानहरुलाई बोलाउनूस्, ज्ञानगुनका कुरा भन्न लगाउनूस जबकी विद्यार्थीहरुले धेरै ज्ञान लिन सकून् ।’ यसो भन्दा मञ्चमा हाँसो गुञ्जेको थियो ।
उहाँेले भन्नुभयो, ‘म त भैँसी चराएर डाक्टर भएँ, यहाँ भैँसी चराएर आउने विद्यार्थी छैनन् होला, तपाइँहरु त अझ माथि जान सक्नुहुन्छ, खै जानुभएको, जान्छु भन्नूस् ।’ कार्यक्रममा उहाँले आफू राष्ट्रपति हुँदा संविधान बनेको बताउनुभयो । उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्न तीन वटा सरकार लाग्नुपर्छ ।’ उहाँले विद्यालयको म्यानेजमेन्ट राम्रो नभएसम्म सुधार नहुने बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षाको विकासमा गर्न महानगर लागिरहेको बताउनुभयो । कार्यक्रममा प्रदेशका सांसद कृष्णप्रसाद भुर्तेल, मिलनबाबु श्रेष्ठ, नेपाली कांग्रेसका सभापति जितनारायण श्रेष्ठ, शिक्षा समन्वय विकासका प्रमुख दीपेन्द्र सुुवेदीले मन्तव्य दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य रेशमबाबु ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष हरि आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा विद्यालयमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०७५, १७ : १७
लेखकबाट थप