नचाहिने औषधि

मंगलबार, २२ माघ २०७५, १६ : २३
नचाहिने औषधि

- अरुना उप्रेती
मैले केही वर्षअघि डा. रमेशकान्त अधिकारी (वरिष्ठ बालरोग विशेषज्ञ)संँग भिटामिनका चक्की झोल र बालबालिकाको स्वास्थ्यबारे जिज्ञासा राखेकी थिएँ । ‘पोषणयुक्त खानाको सट्टा मान्छेले सिसीमा भएको महँगो भिटामिनको झोल खान्छन् । कुनै पनि वैज्ञानिक अनुसन्धानले भिटामिन झोलका रूपमा खानुपर्छ भनेर पुष्टि गर्दैन । हामी स्वास्थ्यकर्मीले भिटामिन बोतलका झोल वा औषधिका रूपमा प्रयोग गर्नु पर्दैन, तिनको औचित्य छैन भन्ने जानकारी दिन सकेका छैनौं । धेरै जनालाई यसबारे भ्रम छ,’ उनको भनाइ थियो ।

बिरामीको चापले होला, स्वास्थ्यकर्मीले झोल भिटामिन चाहिँदैन भनेर बुझाउनुको सट्टा त्यही भिटामिन औषधि लेखेर दिन्छन् । घरमा पाइने र स्थानीय रूपमा उपलब्ध हुने खाद्य वस्तुको उचित प्रयोग गरेर प्रायस् सबै किसिमका भिटामिन पाउन सकिन्छ । औषधि व्यवसायमा लागेका एक व्यक्तिले मलाई भने, ‘भिटामिनको सिसी किन्ने मानिसलाई म भन्छु– त्यसमा देखाइएको फलफूलको फोटो घरमा टाँस्न किने हुन्छ । भिटामिनको सिसीले भने स्वास्थ्यलाई कुनै फाइदा गर्दैन ।’ कतिजना आमाबुबा छोराछोरीले खाना खाएन भनेर भोक बढाउने औषधि किन्न चाहन्छन् । ‘साइप्रोहेप्टाडिन’ नामक भोक बढाउने सिसी जताततैका औषधि पसलमा देखिन्छ । बेलायतमा यो एलर्जी भएको व्यक्तिलाई दिइन्छ ।  ‘भोक बढ्नु र तौल बढ्नु’ त्यो औषधिको नराम्रो असर ९साइड इफेक्ट० हो । नेपाल र भारतमा त्यही साइड इफेक्टलाई राम्रो भन्ठानेर कतिपय आमाबाबुले बच्चाका लागि किन्छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानका एक डाक्टरले भनेका थिए, ‘भोजन पचाउन भनेर दिइने विभिन्न खाले मल्टी भिटामिन औषधि र रगत बढाउने नाममा दिइने औषधि बेकार छन् ।’

अक्सफामबाट प्रकाशित किताब ‘बिटर पिल्स’मा डायना मेलरोजले लेखेकी छन्– यो औषधिको तेस्रो विश्वका लागि गरिने विज्ञापनमा भनिएको छ, ‘बच्चालाई दिन सकिन्छ । यसले कलेजोमा प्रभाव पार्दैन ।’ त्यही औषधिको विज्ञापनमा बेलायतमा लेखिएको छ, ‘कलेजोमा कुप्रभाव पर्छ, बच्चालाई दिनु हुँदैन ।’ यसरी विभिन्न औषधिका कम्पनीले तेस्रो र प्रथम विश्वका लागि भिन्नाभिन्नै मापदण्ड अपनाई एकातिर गलत ज्ञान दिइएको छ ।

भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका छोराछोरी वा श्रीमतीले पक्कै यस्ता भिटामिनका झोल खाँदैनन् । उनीहरूलाई यसले फाइदा गर्दैन भन्ने थाहा हुन्छ । तर अन्य मानिसलाई बेचे उनीहरूको ‘अर्थ’ बढ्छ ।

कोही कुपोषण भयो, कमजोर भयो कि भिटामिनको कमी भएको छ भन्ने हुन्छ । कमै मानिसलाई मात्र थाहा हुन्छ कि दैनिक भोजनलाई सन्तुलित बनाए शरीरमा पर्याप्त भिटामिन पुग्छ । हामीलाई भिटामिन एकदमै कम मात्रामा चाहिने भए पनि यिनको ठूलो महत्त्व छ । बिरामीले ‘लौ न एउटा भिटामिन लेखिदिनुस्’ भनेर आग्रह गर्दा लामो कुरा गरेर सम्झाउनुको साटो ‘लौ त’ भनेर भिटामिन लेखिहाल्ने प्रवृत्तिको अन्त्य जरुरी छ ।

प्रतिक्रिया दिनुहोस