डीपीआर शुभारम्भमा उठ्यो एक करोड रुपैयाँ

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १७ : १०
डीपीआर शुभारम्भमा उठ्यो एक करोड रुपैयाँ

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १६, शान्तिचोकमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आइतबार एक समारोहबीच विस्तृत योजना प्रतिवेदन (डीपीआर) शुभारम्भ गरिएको छ । डीपीआर शुभारम्भ कार्यक्रममा स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

रकम संकलनको कुनै योजना नभएपनि स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले शुभारम्भ कार्यक्रममा रकम संकलनको बारेमा नसोचिएको र स्वस्फूर्तरुपमा दाताहरुले आर्थिक सहयोग गर्नु भएको बताउनु भयो ।

डीपीआर शुभारम्भ कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा अस्पताल भरतपुरकी निर्देशक डा. शारदा कुँवरले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी स्वेच्छिक रुपमा विभिन्न दाताले आर्थिक सहयोगको घोषणा गरेका थिए ।

यसैबीच, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा आइतबार नै डोजरले माटो सम्याउने काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली डोजर चालकसँगै उभिएर माटो सम्याउने काममा सरिक भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस