म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी

बुधबार, २६ पुस २०७४, १५ : ५०
म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी

म्याग्दी । म्याग्दी जिल्लालाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्यामध्ये ९६ दशमलब २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

जिल्ला अनौपचारीक शिक्षा समितिले आगामी माघ ८ गते वसन्त पञ्चमी (सरस्वती पुजा)को दिन म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले दिए ।

जिल्ला अनौपचारिक शिक्षा समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिशिअ श्रेष्ठले जिल्लामा रहेका ४५ वटै वडाहरु साक्षर घोषणा भइसकेकाले जिल्लालाईनै साक्षर  जिल्लाको रुपमा घोषणा गर्न लागिएको बताए ।

समितिका अध्यक्ष एवम् जिल्ला समन्व्य समितिका प्रमुख देवेन्द्रबहादुर केसीले नेपालको ३९ औँ जिल्लाको रुपमा म्याग्दीलाई साक्षर जिल्ला घोषणाको लागि आवाश्यक तयारी समेत थालिएको बताए । अध्यक्ष केसीको संयोजकत्वमा मुल समारोह समिति र थप चारवटा उपसमिति गठन गरि घोषणाको तयारीलाई तिब्रता दिइएको छ ।

जिल्ला शिक्षा कार्यालयले गरेको घरधूरी सर्वेक्षणको तथ्याङ्कअनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८ सय २६ जनसंख्या मध्ये ७९ हजार ७ सय ३९ जना नागरिक साक्षर बनेको पाइएको हो ।

लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्थाअनुसार म्याग्दीलाई साक्षर घोषणा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस