भरतपुरबाट ८६ किलो ४७० ग्राम गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

बुधबार, २६ पुस २०७४, १५ : २१
भरतपुरबाट ८६ किलो ४७० ग्राम गाँजा बरामद,  दुई भारतीय नागरिक पक्राउ

चितवन । भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।  मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङमा गाडीभित्र जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो ।

चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जेएच ०१एन ८६११ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा हुटमुनि फल्सबटम बनाई पत्रिका र प्लास्टिकले बेरी टेपले बाँधेर बण्डल बनाएर राखिएका डेढ किलोदेखि सवा तीन किलोसम्म तौल भएको ३३ बण्डल गाँजा फेला पारेको थियो ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडी बरामद गर्नुका साथै त्यस कार्यमा संलग्न भारत मोतीहारी जिल्ला गोपीगञ्जका २४ वर्षीय नरेशकुमार प्रसाद र सोही ठाउँका १९ वर्षीय निकेशकुमारलाई नियनत्रणमा लिइएको छ ।

गाँजा ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यता चितवन प्रहरीले चितवनको पहाडी क्षेत्रमा यो महिनामा गरेको खोजी अभियानमा १५ बिगाहामा लगाइएको गाँजा खेती फाँडेर नष्ट गरेको छ ।  

प्रतिक्रिया दिनुहोस