ओली थाइल्याण्ड उड्नुअघि बालकोटमा बसेको बैठकले कार्यदललाई दियो यस्तो निर्देशन

बुधबार, २६ पुस २०७४, १२ : ०५
ओली थाइल्याण्ड उड्नुअघि बालकोटमा बसेको बैठकले कार्यदललाई दियो यस्तो निर्देशन

काठमाडौं  । एमाले अध्यक्ष केपी ओली  स्वास्थ्य उपचारका लागि थाइल्याण्ड उड्नुअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित कार्यदलको बैठक बसेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बिहान बसेको बैठकमा ओली र माओवादी अध्यक्ष दाहालले कार्यदल सदस्यलाई चार मापदण्डका आधारमा काम गर्न निर्देशन दिएको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

‘चार मापदण्ड तोकेर यसैका आधारमा काम गर्न उहाँहरुले निर्देशन दिनुभयो,’ पोखरेलले भने । पोखरेलका अनुसार मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेदवार छान्न सो प्रदेशका स्थानीय तहमा पार्टीले जितेको संख्यालाई पहिलो आधार मानिनेछ ।

मुख्यमन्त्रीको निर्णय गर्दा प्रदेश सभामा पार्टीले पाएको सिट संख्याका साथै सो प्रदेशका मुख्यमन्त्री दाबेदारको व्यक्तिगत सम्भावना र कार्यक्षमतालाई आधार मान्नुपर्नेछ ।

‘यसरी निर्णय गर्दा पार्टी एकताको मर्मलाई ध्यानमा राख्नुपर्छ,’ पोखरेलले भने, ‘मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेद्वार छान्दा सन्तुलन पनि हुनुपर्छ भन्ने निर्देशन छ ।’ पोखरेलले कार्यदलले व्यक्तिका बारे निर्णय नगर्ने तर यस्तो गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिने बताए ।

‘प्रतिनिधि सभाजस्तो उम्मेदवार छान्दा हामी ६० र ४० प्रतिशत पनि गर्दैनौं, सो प्रदेशमा पाएको संख्यालाई आधार मान्छौं,’ पोखरेलले भने ।

अध्यक्षद्वयको निर्देशनपछि  कार्यदलले राष्ट्रिय सभाकाे निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारकाे गठन, प्रदेशकाे मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयाेजन समितिमा रिपाेर्ट पेश गर्नेछ ।

कार्यदलले भाेलिदेखि नै काम सुरु गरेर छिटाे रिपाेर्ट पेश गर्ने र रिपाेर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलकाे रिपाेर्टसहित बाँकी जिम्मेवारी स्वत: एकीकृत तहकाे शीर्ष कमिटीमा जाने पनि माओवादी नेता बर्षमान  पुनले जानकारी दिए ।

मंगलबार बसेको दुई पार्टीको एकता संयोजन समितिले दुबै पार्टीका ६ नेता सम्मिलित कार्यदल बनाएको थियो । कार्यदलमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस