माघे सङ्क्रान्तिका लागि सुदूरपश्चिम प्रदेशमा बिदा

शुक्रबार, २७ पुस २०७५, १७ : ३२
माघे सङ्क्रान्तिका लागि सुदूरपश्चिम प्रदेशमा बिदा

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिनुभयो । 

शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको बताउनुभयो । 

बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको सरकार प्रवक्ता शाहले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस