चितवन । पर्वत जिल्ला नाग्लीवाङ गाविस वडा नं ८ फर्से (हाल जलजला गाउँपालिका) की राधिका क्षेत्रीलाई ७ महिना हुँदा हनहनी ज्वरो आयो । गाउँघरमा गरिएको उपचारले उनको शरीरको तापक्रमको पारो घट्नुको साटो झन् बढ्दै गयो । ज्वरो नघटेपछि राधिकालाई बुबाआमाले उपचारको लागि बागलुङ अस्पताल लगे । डाक्टरको सल्लाहमा भर्ना गरेर उनको उपचार गर्न थालियो ।
घर र अस्पताल गरेर झन्डै सात महिनाको उपचारपछि ज्वरोको सास्ती त राधिकाले खेप्नु परेन, तर जीवनरभर अपाङ्गताको सास्ती खेप्नु परिरहेको छ । सामान्यतयाः एक वर्षपुगेपछि बालबालिका दुई खुट्टा टेकेर हिँडन सक्ने हुन्छन् । अभिभावकले बिरामीका कारणले छिटो हिँड्न सकिन भन्ने सोचे । जब राधिका १५ महिना पुगिन्, हिँडाउनको लागि प्रयास भयो तर दुब्रे खुट्टा टेक्नै सकिनन् ।
दाहिने खुट्टा र देब्रे खुट्टाको आकारमा पनि फरक देखियो । देब्रे खुट्टा बढ्न सकेन । त्यसको केही महिनापछि देब्रे हात पनि चल्न छोड्यो । हुँदाहुँदै शरीरको एकतर्फी भाग नै चल्न छोड्यो । उनको उपचारको लागि अभिभावकले कहाँ पो लगेनन्, तर जहाँ लगे पनि हात लाग्यो शून्य भयो ।
अहिले राधिका २९ वसन्तमा चढेकी छन् । अहिले दुई खुट्टा, दुई हात मिलाएर घिस्रेर हिँड्नुबाहेक उनीसँग अरु विकल्प छैन, घिस्रेर पनि कहाँ पो पुग्न सक्छिन् र धेरै पुगे आँगनको डिलसम्म मात्र हो नत्र, कोठाभित्रै । ह्विलचियर उनको साथी भइरहेको छ यतिबेला ।
यसरीे मोडियो बाटो
अपाङ्गता भए पनि आफैँले केही गर्ने हुटहुटी राधिकामा थियो । सधैँभर अरुको भर र आशमा बाँच्न उनलाई कति पनि मन थिएन । परिवारमा राधिकामात्र हुन् अपाङ्गता । राधिकाको ४ बहिनी र दुई भाइ उनीजस्ता छैनन् ।
नियतिको खेलले उनलाई मात्रै ठग्यो । पढ्ने अवसर पनि पाइनन् । तर व्यवहार गर्दागर्दै हिजोआज उनी अक्षरसम्म चिन्न सक्छिन् । पैसाको सामान्य जोडघटाउ गर्न सक्छिन् । उनी भन्छिन्, ‘८ कक्षामात्र पढेको भए, मैले राम्रो जागिर पाएकी थिएँ तर के गर्नु पढ्ने अवसर मिलेन । अहिले अगरबत्ती बेच्दै जीवन धानेकी छु ।’
उनका अनुसार विद्यालय उनको घरबाट टाढा थियो । अपाङ्गता छोरी स्कुल जान सक्दिनन् भनेर बाबुआमाले पठाउनुभएन । अहिले उनलाई पढ्ने अवसर नपाएकोमा थकथकी लाग्छ । उनी भन्छिन्, ‘अलिकति पढेको भए अपाङ्गतालाई अवसर धैरै हुँदोरहेछ, तर पढाइ नहुँदा धेरै नै पछुतो लाग्छ । भगवानको कृपाले नै यस्तो बनाइदिए के गर्नु ?’ उनी आफू भगवान भरोसामा अगाडि बढिरहेको बताउँछिन् ।
तर पनि त्यति धिकार्दिनन् उनले आफ्नो जीवनलाई । अहिले आफ्नै पौरखले जीवन चलाइरहेकी छन् । कसैको आश र भरोशामा बाँच्नु परेको छैन । दुई छाक खान, एक सरो लगाउन र भाडामै भए पनि कोठामा बस्न कसैसामु हात फैलाउनु परेको छैन । यसैमा सन्तोष मान्छिन् उनी ।
‘आफ्नो काम गरेर खाएकी छु, कसैको सामु झुकेको छैन, जीवनमा अझै संघर्ष गर्दै जान्छु, नियतिले एकचोटी ठग्यो तर पटकपटक ठग्ने छैन होला नि !’ उनले भनिन् । पसलपसलमा जानु, ढोकाढोकामा पुग्नु र झोलाभरिको अगरबत्ती देखाउनु उनको हिजोआजको दिनचर्या हो । हिजोआज उनी ठाउँठाउँमा पुगेर भन्ने गरेकी छन्, ‘यही हो, म अपाङ्गताको पौरख, किनेर सहयोग गर्न सक्नुहुन्छ !’
अपाङ्गताले नमुना काम गरेका उदाहरणहरु उनले प्रशस्त सुनेकी थिइन् । त्यसैले उनलाई पनि केही गर्ने मनमा तीव्र आकांक्षा भयो । गाउँकै चिनेजानेका दाइबाट उनी गैंडाकोटको अपाङ्ग जीवन संस्थासँग जोडिन पुगिन् । २०७२ सालमा त्यहाँ आएर अगरबत्ती बनाउने तालिम सिकिन् । त्यहाँ आफूजस्ता थुप्रै साथीहरुले अगरबत्ती बनाएको देखेर उनी पनि हौसिन् । केही दिनमै अगरबत्ती बनाउन सिकेपछि अरुको खुट्टामा कति उभिने उनलाई लाग्यो । आफ्नो खुट्टामा आफैँ उभिने प्रयासस्वरुप एकजना साथीसँग मिलेर कोठा भाडामा लिएर बस्न थालिन् राधिका ।
उनी भन्छिन्, ‘मसँग अगरबत्ती बनाउने कला छ, एउटा हात कम चले पनि एउटै हातको भरमा म अगरबत्ती बनाउन सक्छु ।’ शरीर अपाङ्गता भए पनि उनी साङ्गभन्दा कम छैनन् । उनी आँट, साहसले भरिएकी छन् । आफूलाई कमजोर कत्तिपनि ठान्दिनन् । उनी भन्छिन्, ‘अगरबत्ती बनाएर बेचबिखनबाट आफ्नो ज्यान पाल्न सक्छु भनेर नै कोठा भाडामा लिएर बस्न थालेकी हुँ ।’
फेसबुकले जुरायो जोडी
शनिबारको दिन थियो । दिन ढल्कदै गएर गोधूली साँझ हुँदै थियो । मोबाइल चलाउँदै थिइन् राधिका । उनले पहिल्यैदेखि फेसबुक चलाउँथिन् । त्यो दिन पनि फेसबुक चलाएर बसेकी थिइन् उनी । अचानक जीवन नामबाट फेसबुकमा रिक्वेष्ट आयो उनलाई ।
मनमनै भनिन्, ‘नचिनेको मान्छेबाट पनि कति आउँछ रिक्वेष्ट ।’ दुई दिनसम्म त एसेप्ट नै गरिनन् उनले । ‘एसेप्ट गर्दैमा के नै हुन्छ र, त्यसमाथि उसले पठाइसकेपछि’ कोठाको साथीले भनेपछि राधिकाले जीवनको रिक्वेष्ट एसेप्ट गरिदिइन् ।
एसेप्टको भोलिपल्ट जीवनले भने, ‘हाई !’ राधिकाले सुरुमा जवाफ नै दिइनन् । भोलिपल्ट मात्र भनिन्, ‘हेलो !’ ‘हाई’ र ‘हेलो’बाट सुरु भएको उनीहरुको कुराकानी विस्तारै बढ्दै गयो । नाम, घर सोध्ने काम हुन थाल्यो । कुराकानी बढ्दै जाँदा फोन नं. साटासाट हुन थाल्यो । अब फेसबुकमा मात्र होइन, फोनमा कुराकानी हुन थाल्यो । भाइबरमा कुराकानी चल्न थाल्यो । कुराकानीमै राधिकाले जीवनको थप जानकारी पाउँदै गइन् भने जीवनले राधिकाको बारेमा थाहा पाउँदै गए ।
जीवनको यस्तो थियो जिन्दगी
जीवन तामाङ २४ वसन्तमा मात्रै टेक्दै छन् । उनको स्थायी घर मकवानपुर जिल्लाको भकियापाँच हो । जीवन ९ महिना छँदा उनलाई नशाको समस्या देखियो । उनका बुबाआमाले उनको उपचारको लागि बनेपा लगेछन् । त्यहाँ उपचार सफल भएन । अन्यत्र पनि उपचारको लागि जीवनलाई लगियो, तर जहाँ उपचार गर्न गए पनि उनको समस्या समाधान हुन सकेन ।
‘नशाको समस्याले दुबै हात राम्रोसँग चल्दैन । खुट्टाले राम्रोसँग भेउ नै पाउँदैन, तर म दुई खुट्टा टेकेर हिँड्न सक्छु’ जीवनले भने, ‘मेरो नशाको समस्याले शारीरिक ढाँचामा परिवर्तन छ, बोली प्रष्ट छैन ।’
परिवारको सहयोगमा २०७४ सालमा जीवन तामाङ धादिङको अपाङ्ग कल्याण संस्थामा जोडिन पुगे । जीवनलाई यो संस्थाले निःशुल्क सिलाइकटाइको तालिम दियो । एक वर्षसम्म उनले सोही संस्थामा रहेर सिलाइको तालिम लिए । उनी भन्छन्, ‘राधिका र मबीच कुराकानी हुँदा म धादिङ अपाङ्ग कल्याण संस्थामा थिएँ ।’
यसरी भयो विवाह
फोन र फेसबुकको कुराकानीले जीवनलाई राधिकाको र राधिकालाई जीवनको अवस्थाबारेमा पूर्ण ज्ञान भयो । ‘फोनमै हामी दुबैजनाले एक अर्काको अवस्थाबारेमा खुलस्त पारेका थियौँ’ दुबैले एकै श्वरमा भने, ‘फोनमा भएका कुराकानीमा नै हामीले एकअर्कालाई माया गर्न थालिसकेका थियौँ ।’
फोनफोनमै माया गाढा बन्दै गएपछि उनीहरुबीच भेटघाट बाक्लो हुन थाल्यो । दुबै अपाङ्गता भए पनि सीप भएका कारण जीवनलाई सहज पार्न सकिने साहस उनीहरुमा थियो । राधिका अगरबत्ती बनाउन सक्थिन् भने, जीवन सिलाइकटाइको काम गर्न सक्थे । उनीहरु भन्छन्, ‘अपाङ्गता भए पनि दुई छाक खान कसैसामु हात पर्सानु पर्दैन भन्ठानेर नै वैवाहिक जीवनमा बाँधिने निर्णय गरेका थियौँ ।’
उनीहरु २०७५ कार्तिक ८ गते हरिहर मन्दिर नारायणगढ आएर विवाहको विधि पूरा गरेका थिए । ‘हाम्रो समाजमा कार्तिकमा सिन्धूर हालिदैन, विवाहको विधि कार्तिकमा गरेपछि यही गएको मंसिर २६ गते सिन्धुर हाल्ने काम भयो’ उनीहरुले भने, ‘यसरी हाम्रो विवाह भयो, तर मागी होइन, भागी नै हो नि !’ यति भनेपछि दुबैजना केहीबेर गलल हाँसे ।
विहेपछि राधिका श्रीमान्को घर मकवानपुर एकचोटी मात्र पुगेकी छन् ।
उनीहरु अहिले नवलपुरको देवचुलीमा कोठा भाडामा लिएर बसेका छन् । दुबैले कोठामै अगरबत्ती बनाउँछन् र दुबैजना बेच्न हिँड्छन् । राधिकाको भाषामा उनको अर्को साथी ह्विलचियर पनि छ । राधिका ह्विलचियरमा बस्छिन्, ह्विलचियरको अगाडि अगरबत्ती राख्छिन् । जीवन ह्विलचियर धकेल्छन् । अगरबत्ती बेच्ने, पैसा लिने, पैसा फिर्ता गर्ने काम सबै राधिकाले नै गर्छिन् ।
‘कति अगरबत्ती बनाइयो, कति अगरबत्ती बेच्न ल्याइयो, कतिको व्यापार भयो, कति कमाइ भयो ? यो सबै हिसाबकिताब मैले राख्छु, उहाँलाई आउँदैन’ राधिका भन्छिन्, ‘उहाँले ह्विलचियर धकेल्नुहुन्छ र घरको ढोका, पसलहरुमा लैजानुहुन्छ, अरु काम त मैले गर्छु ।’ राधिकाले यसो भनेपछि जीवनले मुसुमुसु हाँस्दै भने, ‘मलाई पनि उनले हिसाबकिताब सिकाउँदैछिन्, म त उनीबाट धेरै कुरा सिक्दैछु । बिहे भएको पनि धेरै भएको छैन नि !’
राधिकाका अनुसार राम्रो व्यापार भएको दिन खर्च कटाएर दिनको एक हजार रुपैयाँ कमाइ हुन्छ, नत्र सात सय, पाँच सय यस्तै हो । मासिक २० देखि ३० हजारसम्म कमाइ भइरहेको छ । उनीहरुसँग दिनमा दुबै जनाले १३ सय वटा अगरबत्तीको पोका बनाएको रेकर्ड छ । एक दिन अगरबत्ती बनाए भने अर्को दिन बेच्ने काम हुन्छ । कोठा भाडा, खाना सबै गरेर मासिक १० हजारको हाराहारीमा उनीहरुको खर्च छ । खर्च अगरबत्तीले धानेको छ । बाँकी केही बचत हुन्छ ।
उनीहरु अगरबत्ती बेचेर कमाएको रकमले एउटा सटर भाडामा लिएर सिलाइकटाइको काम गर्ने सुरसारमा पनि छन् । ‘त्यो अलि खर्चिलो छ, तत्काल सकिँदैन’ राधिकाले भनिन्, ‘संघर्ष गरेर सानो घरसम्म बनाउने सपना बोकेर अघि बढेका छौँ, हेरौं परिस्थतिले कहाँसम्म लैजान्छ ।’
नियतिले त एकपटक दुबैलाई ठगेको छ, अब नठग्ला कि, उनीहरु यसमा विश्वास गरेर अघि बढिरहेका छन् । मनभरि साहस, आँट संगालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०७५, १२ : २१
लेखकबाट थप