काठमाडौं l सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तीप्रति असन्तुष्टि जनाएका हुन् । अध्यक्ष प्रचण्डले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
बिहीबार पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उनले विद्यालय तहदेखि नै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिए । स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष प्रचण्डको भनाई छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागि परेको दावी पनि गरे ।
प्रतिक्रिया दिनुहोस