चितवन । नेपालका लागि पाकिस्तानका राजदुत डा. मजर जाबेदले नेपाल पाकिस्तानको असल मित्र भएको बताउनु भएको छ । नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरमा आयोजित पाकिस्तानी राजदुतावासको शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डा. जाबेदले यस्तो बताउनु भएको हो । पाकिस्तानी राजदुतावासको तर्फबाट विद्यालयलाई १० लाख रुपैयाँ बराबरको कम्प्युटर हस्तान्तरण गरिएको थियो । डा. जाबेदले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको क्षमता विकासको लागि कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका डा. जाबेदले नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कायम भएसँगै सहयोग आदानप्रदान भैरहेको बताउनु भयो । पाकिस्तानी दुतावासले शिक्षा, स्वास्थ्यका साथै विविध क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै उहाँले आउँदा दिनहरूमा सहयोग बढाउँदै लैजान चाहेको बताउनु भयो । यस्ता सहयोगहरूले दुई देशका नागरिकबीच रहेको जनस्तरको सम्बन्धलाई अझै सुदृढ गर्ने बताउनु भयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाल र पाकिस्तानकाबीच मैत्री सम्बन्ध कायम भएसँगै मित्रराष्ट्र पाकिस्तानले नेपालको भौतिक, सामाजिक र साँस्कृतिक विकासका साथै प्राविधिक विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताउनु भयो । कायक्रमको विशिष्ट अतिथि रहनु भएकी दाहालले सम्बोधनको सुरुमा भन्नुभयो, ‘नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदुत डा. मजर जाबेदलाई भरतपुर महानरपालिकामा हार्दिक स्वागत गर्दछु ।’
आफ्नो सहयोगलाई निरन्तरता दिंदै पाकिस्तानी दुतावासले भरतपुर महानगरपालिकाभित्र रहेका नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरलाई सुविधासम्पन्न कम्प्युटर ल्याब स्थापनार्थ सहयोग गरेकोेमा राजदुत जाबेदलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरको अधिकतम उपयोग गरी ज्ञान र सीप हासिल गर्न आग्रह गर्नुभयो ।
महानगर प्रमुख दाहालले यस्ताखाले सहयोगले नेपाल र पाकिस्तानबीच कायम रहेको सुमधुर सम्बन्धलाई अझै जनस्तरमा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले पाकिस्तान सरकारको सहयोगमा भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेको भरतपुर आँखा अस्पताल देशकै नमुना अस्पतालको रूपमा संचालनमा रहेको बताउनु भयो । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले यसको समुचित विकासको लागि योजनावद्ध ढंगले कार्यक्रमहरु अगाडि बढाइरहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका कामहरु भैरहेको बताउनु भयो ।
महानगरपालिकामा आफूले नेतृत्व सम्हालेसँगै महानगरीय रिङरोड र लिङ्करोडको काम भैरहेको बताउँदै दाहालले सिटी हल र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै शुरू हुने बताउनु भयो । महानगरवासीको पहिलो माग सडक कालोपत्रे रहेको बताउँदै उहाँले अबको ४ बर्षभित्र सबै सडकहरुको स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजनाका साथ काम भइरहेको बताउनु भयो । प्रमुख दाहालले देवघाटमा शवदाह गृह, रानीपोखरी पार्क निर्माणकासाथै अन्य दर्जनौं कार्यक्रम अगाडि बढिरहेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा पाकिस्तानी दुतावासका राजनीतिक एवं साँस्कृतिक कन्सुलर अब्जर अब्दार, भरतपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओमप्रसाद पोखरेल, भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख भूमि सुवेदी, विद्यालयका प्रधानाध्यापक लगायतले विद्यालयलाई कम्प्युटर ल्याब निर्माण गरी सहयोग गरेकोमा पाकिस्तानी राजदुत लगायत दुतावासलाई धन्यवाद दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०७५, १४ : ५३
लेखकबाट थप