जीतबहादुरको आरन पेसा : मलाई जापान पनि यही, कोरिया नै यही

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, २१ पुस २०७५, ०९ : २३
जीतबहादुरको आरन पेसा : मलाई जापान पनि यही, कोरिया नै यही

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । पछिल्लो समय हराउँदै गएको आरन पेसालाई व्यावसायिक ढंगबाट सञ्चालन गरेर स्वरोजगार बन्न सकिने गतिलो उदाहरण खोज्न अन्त जानै पर्दैन, भरतपुर २ बाइपासरोडमा सजिलै देख्न सकिन्छ । हराउँदै गएको पेसालाई धान्ने मात्र होइन, राम्रै कमाइ गरेर स्वरोजगारको नमुना बनेका व्यक्ति हुन्– जीतबहादुर विक । ५० वर्षका उनै जीतबहादुरले गोर्खाली कृषि औजार सञ्चालन गरेर समाजमै उदाहरणीय व्यक्ति बनेका छन् । 
चितवनका यतिबेला जीतबहादुर सफल आरन व्यवसायीको नामले परिचित छन् । परम्परागत रुपमा गरिँदै आइएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेसा पछिल्लो समय लोप हुँदै गइरहेको छ । लोप हुँदै गएको पेसालाई उनले व्यावसायिक ढंगबाट सञ्चालन गरिरहेका छन् । यतिबेला उनले पछिल्लो पुुस्तालाई उदाहरण त दिएका छन्, तर उनलाई एउटा पिरलो छ, आफूपछि यो पेसा धान्ने कसले ? 

गोर्खाको तान्द्रुङमा २०२५ सालमा उनको परिवार पालुङटार च्याङली गोर्खामा बसाइँ सरेको हो । किसानी परिवारमा हुर्किएका विकले पढ्न अवसर पाएनन् । १४ वर्षको उमेर पुगेपछि गाउँका आरन चलाइरहेका एक जना दाइले उनलाई काममा लगाए । ‘तँ किन यत्तिकै हल्लेर बस्छस् ? आइज मसँग काम गर्न, म तँलाई तेरो गुरु बनेर काम सिकाइदिन्छु’ दाइले उनलाई भने । दाइले यसो भनेपछि के खोज्छस् कानो आँखो भनेजस्तो भयो । उनी विगत सम्झदै भन्छन्, ‘अनि म उनीसँगै काम सिक्न भनेर गएँ ।’ त्यहाँबाट उनी एक वर्षमै निस्कन बाध्य भएका थिए । 

उनले तीतो पोख्दै भने, ‘एक वर्ष नपुग्दै धेरै कुरा जानेको देख्दा मेरा गुरुले मलाई थप काम सिकाउन नचाहेको जस्तो अनुभव मलाई भयो । उहाँले मलाई अब काममा नआए हुन्थ्योजस्तो गर्नुभयो । अनि म आफैँ काममा जान छाडें ।’ गुरुकहाँ जान छोडे पनि उनले आरन कामलाई चटक्कै छोडेनन् । ‘एक सुकी थुकी सय थुकी नदी’ भने झैं एकएक समान जुटाएर उनले घरमै आरन पेसालाई निरन्तरता दिए ।  

आफूले आरन थालेको एक वर्षपछि वैवाहिक जीवनमा बाँधिएका उनी श्रीमतीलाई लिएर २०४२ सालमा व्यवसाय गर्न तनहुँको तुरतुरे गए । त्यहाँ उनले जग्गा भाडामा लिएर घरेलु कृषि औजार बनाउने कारखाना खोले । पछि उनले त्यही व्यवसायबाट तुरतुरेमा घर जग्गा जोडे र आफ्नै जग्गामा कारखाना चलाए । 

विकका दुई छोराको जन्म तुरतरेमा र एक छोरीको जन्म गोर्खामा भएको थियो । छोरीको धादिङ्गमा विवाह भएको छ भने जेठा छोरा साथमा र कान्छा छोरा जापानमा छन् । २०४२ सालदेखि २०५६ सालसम्मको समय उनले तुरतुरेमा बिताएका थिए । त्यसपछि तुरतुरेमा रहेको व्यवसाय आमा र परिवारलाई जिम्मा लगाएर उनी २०५७ सालमा चितवन झरे । उनी व्यवसाय गर्नका लागि एक्लै झरेका थिए । 

चितवन आएपछि नारायणगढको न्युरोडस्थित लीला चोकमा उनले तीनजना कर्मचारीसहित कृषि औजार उत्पादन गर्ने आरनको कारखाना र पसल खोले । उनले सुरुमा एक लाखको लागतमा आरन व्यवसाय सुरु गरेको थिए । लीलाचोकमा ७ वर्षमात्र व्यवसाय सञ्चालन गर्दा भरतपुरमा घडेरी किनेर घर बनाउन पुग्ने गरी पैसा कमाइ सकेका थिए । उनले २०६४ सालमा भरतपुर महानगरपालिका क्षेत्रपुर २ बाइपास रोडमा घडेरी किने र घर बनाए । उनले लिलाचोकको आरन कारखाना र पसललाई बाइपासमा सारे । घर बनाएपछि बल्ल उनको परिवार चितवन झरेको थियो । 

२०६४ सालदेखि अहिलेसम्म उनले बाइपासरोडमा आफ्नो आरन कारखाना चलाइरहेका छन् । जीवनमा विभिन्न स्टेपहरु पार गर्दै आएका उनले आरन व्यसायबाट राम्रो सफलता प्राप्त गरेका छन् । उनले आफ्नो कारखानामा पहाडिया डिजाइनका हँसिया, खुर्पा, चक्कु, दाऊ, कचिया, कुटो, कोदालो, ताइ, ताप्के, ओखल, चामकोदाली, फाली, बन्चरो, चुलेसी, भुसेचुलो, कोइलाचुलो, चिम्टालगायतका कृषि औजार तथा घरेलु भान्सा सामग्रीहरु उत्पादन गर्दै आइरहेका छन् । 
उनले उत्पादन गरेका सामग्रीहरु आफ्नै पसलमा खुद्रा विक्री गर्छन् । आरन कारखानामा उत्पादित वस्तुहरु देशका विभिन्न ठाउँहरुमा पुराएका छन् उनले । देशका विभिन्न मेला महोत्सवहरुमा गएर कृषि औजार प्रदर्शनी गरेको विकले बताए । आउँदै गरेको चितवन महोत्सवमा पनि स्टल लिएर आफूले उत्पादन गरेको कृषि औजार प्रदर्शन गर्ने योजना उनले बनाएका छन् ।  

‘मेला महोत्सवमा जाँदा एकमुष्ट पैसा आउँछ भने घरको पसलबाट खुद्रा व्यापार गर्दा दैनिक कमाइ हुन्छ’ उनी भन्छन् । आरन पेसाको समुदायमा अत्यन्तै महत्व छ । पछिल्लो समय नेपालमा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको विकले बताए । उनको पसलमा विभिन्न समयमा अन्नपात गोडमेल गर्नको लागि नयाँ कुटो कोदालो बनाउनेहरुको घुइँचो लाग्ने गर्छ । 

आरन चलाएर उनले सन्तुष्ट हुने गरी आम्दानी गरिरहेको सुनाए । आरन व्यवसायलाई व्यवसायिक बनाउने हो भने स्वदेशमै परिवारसँग विदेशभन्दा बढी आम्दानी गर्न सकिने उनको भनाइ छ । स्वदेशमा रोजगारी छैन भन्दै विदेशमा श्रम गरेर पसिना बगाउन जाने युवाहरुको लागि जीतबहादुर विक गतिलो उदाहरण बनेका छन् । 

विकका जेठा छोरा राजु विक अहिले बुवाको आरन व्यवसायलाई साथ दिइरहेका छन् । पहिले सुनको काम गरेका उनले अहिले बुवाले गर्दै आइरहेको आरन कारखानालाई थप आधुनिक ढंगबाट चलाउने योजना बनाइरहेका छन् । छोराले पनि मलाई साथ दिएपछि काम गर्न धेरै सजिलो भएको उनी बताउँछन् । 

विकको आरन कारखानामा अहिले दुई जना श्रमिक छन् । थप दुई चार जना कामदारको अभाव भइरहेको उनले बताए । राम्रो सफलता मिल्दै गएका कारण यो व्यवसायलाई अझै आधुनिक ढंगबाट विस्तार गर्ने योजनामा छन् विक । परम्परागत रुपमा आफ्नै बाउबाजेले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्दै स्वरोजगार बन्न सकिने गतिलो उदाहरण पस्केका विकले छुट्टिने बेलामा भने, ‘मलाई जापान पनि यही, कोरिया नै यही.....।

 

प्रतिक्रिया दिनुहोस