- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन ।
‘हे ईश्वर जो गर्नु मलाई गर्यौ ठीकै छ, अरुलाई यस्तो नगर !
कमाउन सक्तिनँ भोकै मरे मै मर्छु, सबैलाई भोको नमार !!’
यो मुटु नै छेड्न सक्ने भावपूर्ण भनाइ ४० वर्ष पहिले ४० वर्षकै उमेरमा आँखाको ज्योति गुमाएका कालिदास ढकालले रचना गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ चाँदनी चोक, ज्योतिनगर निवासी ८० वर्षीय दृष्टिविहीन कालिदास ढकाल पछिल्लो युवा पुस्ताको लागि नौलो नाम हुन सक्छ, तर अघिल्लो पुस्ताका लागि दृष्टिविहीन कवि कालिदास ‘काका नेपाली’ नामले चिरपरिचित छन् ।
२०३६ सालमा कामको सिलसिलामा भारतको दिल्लीमा थिए उनी । त्यहाँ रहँदा उनले न्वारनको भोजमा सरिक भए । त्यही भोज खाँदा फुड प्वाइजनका कारण उनको आँखाको ज्योति गुम्यो । त्यो ज्योति हालसम्म फर्केको छैन । ज्योति त फर्केन, तर उनको जीवनमा बहार आयो, जुन बहार उनको गायन कलासँगसँगै कवित्व पनि थियो ।
दिल्लीमा भोज खाएका धेरै साथीमध्ये एकको मृत्यु र दर्जनौंको उपचारपछि निको भएको उनी सम्झन्छन् । ‘भोज खाएको दिन लठ्ठ बनाइरहेको थियो, त्यस राति सुतें, र भोलि पल्टको राति सुतेर बिहान बिउँझँदा चारैतिर अँध्यारो मात्रै देखेँ’ उनी सम्झन्छन् । त्यसपछि उनले आँखाले उज्यालोको महसुस गर्न पाएको छैन । एक दिन, दुई दिन, महिना, वर्ष हुँदै आज ४० वर्ष भयो उनले संसार देख्न छोडेको ।
केही गरेर देखाउने आँट थियो उनमा तर दैवले आँखाको ज्योति लगेपछि आफना सबै चाहनाहरु भताभुङग भएको उनी दुखेसो गर्छन् । तर पनि उनले आफ्नो जीवनबाट हार खाएनन् । कयौँ दृष्टिविहीनहरु संघर्षबाट उचाइमा पुगेका उदाहरणहरु उनको मानसपटलमा ताजै बस्यो । बाहिरी आँखाको ज्योति त गुम्यो नै, भित्री आँखाको ज्योति त छदैँ छ उनलाई यही लाग्यो ।
दृष्टिविहीन भएपनि काका नेपालीले ४ वटा पुस्तक प्रकाशन गरेका छन् । अन्य थुप्रै गीत एवम् कविताहरु रचना गरेका छन् । भजन, अखण्ड कृतनमा सहभागी हुँदै जसोेतसो उनले आफनो जीवन गुजारी रहेका छन् ।
तनहुँको रतनपुरमा जन्मिएका काका नेपालीको बाल्यकाल जन्मथलोमा नै बित्यो । अंग्रेजीमा ५ कक्षासम्म र केही नेपाली व्याकरण अध्ययन गरेपछि आफ्नो पढाइलाई उनले बाध्यताका कारणले पूर्णविराम लगाए । उनको बाल्यकालदेखि नै गीत, संगीतमा रुचि थियो ।
उनी बाल्यकालदेखि राजनीतिमा पनि रुचि राख्थे । काँग्रेसको समर्थक भएर काम गरेका उनले बीपी रतनपुरमा आएको बेला भेट्ने मौका पाए । बीपीले ‘सानो भाइ’ भनेर बोलाएकाले उनलाई सबैले ‘सानो भाइ’ भन्न थाले । त्यसपछि उनी राजनीतिमा पनि सक्रिय भएर लाग्न थाले ।
२०१८ सालमा राजा महेन्द्रले प्रजातन्त्र खाएपछि रतनपुरमा शाही सेना जान थाल्यो । गाउँका नेताहरु जेल परे भने आफूलगायतका केही व्यक्तिहरु भागेर भारतको नरकटियागन्ज गएको उनी सम्झन्छन् । त्यति बेला उनी २२ वर्षका थिए । उनी इण्डियामा रहँदा आफन्तजनसँग भेटघाट गर्नुका साथै नोकरी पनि गरे । त्यसपछि उनी नेपाल आए र तनहुँबाट २०२१ सालमा चितवनको ज्योतिनगर झरे ।
चितवन आएपछि उनले आदर्श माध्यमिक विद्यालय दिव्यनगरमा १ वर्ष पढाए । शिक्षक पेसा छाडेपछि उनी २०२३ सालमा रेडियो नेपालमा काम गर्न गए । उनले त्यहाँ अस्थायी कलाकारको रुपमा एक वर्ष काम गर्न पाए । ‘रेडियोमा काम गर्दा गर्दै म बिरामी भएँ । अनि म घर आएर दशैं, तिहार मानेर जाँदा नियुक्ति सकिएको रहेछ’ उनी भन्छन् ।
रेडियोमा काम गर्दा गर्दै उनले ‘झुपडीको बास’ नामक गितीसङग्रह प्रकाशित गरे । त्यसमा तीज गीत, लोक दोहोरीलगायतका गीतहरु समेटिएका छन् । रेडियो नेपालको जागिर छुटेपछि उनले चितवनको पिताजी घाटमा टिकट काट्ने काम गरेर २ वर्ष बिताए । त्यसपछि उनले नवलपरासीको मगरकोटमा रहेको राइसमिलमा म्यानेजर भएर काम गरे । ‘त्यतिबेला मेरो कामलाई म्यानेजर भन्ने गर्थे’ उनले भने ।
राइसमिलको काम छोडेर २०२६ सालमा सावित्री ढकालसँग वैवाहिक सम्बन्ध कायम गरेपछि ३ छोरा र २ छोरीको जन्म भए पनि हाल १ छोरी मात्र जीवित छिन् । छोरी सुलोचनाको गोरखा छोप्राकका अर्जुन पोख्रेलसँग वैवाहिक सम्बन्ध गाँसिएको छ । उनीहरु हाल कृष्णपुर, विकासचोक चितवनमा बसोबास गरिरहेका छन् । छोरातर्फ भने केवल माहिला छोरा राजकुमार ढकालका सन्तान मात्र छन् । माहिला छोराकी श्रीमती रमा ढकाल, नातिनी रचना ढकाल, नातिहरु शिवज्योति ढकाल र शंकर ज्योति ढकालसँगै काका नेपाली बसोबास गरिरहेका छन् ।
उनले २०२६ सालमा ‘हिमालको फेदी’ नामक कविता सङग्रह प्रकाशित गरे । त्यसमा विभिन्न गीत तथा कविताहरु समावेश छन् ।
२०३० सालदेखि २०३५ सालसम्म उनले पुनः आदर्श माध्यमिक विद्यालयमै मुखियाको जागिर खाए । उनले विद्यालयको हिसाव किताब राख्ने काम गरे । विद्यालयको जागिर छोडेपछि उनी नोकरी गर्न २०३६ सालमा भारतको दिल्ली पुगे । यतिबैलै हो उनी न्वारनको भोज खान जाँदा फुड प्वाइजनमा परेका । उनले संसारलाई अध्यारो देख्न थालेको आज ४० वर्ष भयो । उनी अब अरुको सहारामा जिउन पर्ने भयो । परिवारको साथ र मायाले आजसम्म सास फेर्न पाएको उनी सुनाउँछन् । उनी नेपाल नेत्रहीन संघको सदस्यमा रहेका छन् ।
३६ सालपछि उनको जीवन पहिलेभन्दा धेरै फरक रह्यो । ‘कतै काम गर्न सक्ने कुरै भएन । पहिले त केही गरेर देखाउँछु भन्ने आँट थियो तर अन्धो बनेपछि ती सबै आँट निरासतामा बदलियो’ उनी दुेखेसो पोख्छन् । आँखाको ज्योति गुमाएपछि उनी साहित्यमा लागे । २०४२ सालमा ‘जिउँदो लास’ नामक कविता सङग्रह प्रकाशित गरे ।
अन्धो बनेको २४ वर्षपछि उनले अन्धाको पुकारहरु समेटिएको ‘कालिदास’ नामक कविता सङग्रह प्रकाशित गरे । यो पुस्तकमा उनले अन्धासम्बन्धि कविताहरु लेखेका छन् । यी दुई वटा किताबका गीत तथा कविताहरु आफूले भन्ने अनि छोरी, नातिनी र साथीभाइहरुले लेखिदिएको उनले बताए ।
दृष्टि विहिन भएपछि उनले विभिन्न ठाउँमा गएर गीत गाउने र आफ्नो किताब बेच्ने पनि गरे । उनी आफूले रचना गरेका सबै किताब लिएर गोरखा कालिका, लमजुङ, त्रिवेणी धाम, गोद्धक बजार माडी, बैकुण्ठे माडी, देवघाटधामलगायतका ठाउँहरुमा मेला लागेको बेला जाने गीत गाउने र किताब बेच्ने गर्थे । बाहिरी आँखाको ज्योति उनीसँग नभए पनि भित्री आँखाले उनले संसार हेरिरहेका छन् ।
साथमा एउटा साथी लिएर जान्थे उनी । किताब बेचेर पैसा भने खासै कमाउन सकेनन् उनले तर आफ्नो नामको प्रचार भने गरे । ‘सँगै लगेको साथीलाई ज्याला दिनु पथ्र्यो, किताबको मूल्य पनि धेरै थिएन । अनि साथी भाइले खाजा खाम भन्थे त्यतिकैमा पैसा सकिन्थ्यो’ उनले भने । उनलाई बुढेसकालले ढाकेको भएपनि अहिले पनि विशेष गरी देवघाटमा मेला लाग्ने बेला किताब बेच्न जान्छन् ।
काका नेपालीेको १० वर्ष नारायण पोख्रेलसँग हिँडेर पनि बित्यो । नारायण पोख्रेलसँग भजन कृतन गाउँदा केही कमाइ भएको उनले बताए । ३६ सालपछि अपाङग भत्ता लिँदै आएका उनले आफ्नो उमेर ७० वर्ष कटेपछि वृद्धा भत्ता मात्र लिइरहेका छन् ।
आँखा नदेखे पनि श्रीमती र साथीभाइको सहाराले उनी विभिन्न साहित्यिक तथा गायन गोष्ठीमा सहभागी भइ आफ्ना रचनाहरु सुनाउने गर्छन् । अन्य गीतहरु पनि लख्ने, कविताहरु लेख्ने गर्छन् उनी । पहिले पार्टीका गीतहरु पनि गाउने गर्थे उनले । अझै पनि कहिले काहीँ उनी नेपाली कांग्रेसको कार्यक्रममा सहभागी भएर काँग्रेसका गीतहरु गाउने गर्छन् । व्यङग्यात्मक गीत गाउनमा पनि उनी माहिर छन् । बुढेसकाल लागेपछि भने उनले अखण्ड कृतनतीर बढी समय विताइरहेका छन् । उनी आजकाल मिलन चोकमा रहेको गणेश मन्दिरमा विहान ११ बजेबाट दिउँसो २ बजेसम्म नियमित अखण्ड कृतन गायनमा सहभागी हुन्छन् । समूह बनाएर विभिन्न ठाउँहरुमा पनि अखण्ड कृतन गर्न जान्छन् उनी ।
सरकारले अपाङ्गका लागि निःशुल्क यातायात भने पनि उनको हातमा सेतो छडी देखेपछि गाडी वालाले गाडी राक्दैन ‘मेरो हातमा सेतो छडी देख्यो भने बस रोक्दैनन्, भाडा छुट भनेको छ तर बसमै नचढाएपछि केका लागि भाडा छुट ? हामी आधा भाडा तिर्न तयार छौं, तर के गर्ने बसले चढाउँदैनन्’ उनी आक्रोश पोख्छन् । गाडी चढ्न उनले आफ्नो हातको सेतो छडी लुकाएर अरुले रोकिदिनु पर्दछ ।
राजनैतिक दलले चुनावका बेला वृद्धभत्ता ५ हजार बनाउँछु भने हालसम्म ५ हजार वृद्धभत्ता नपाउँदा उनको गुनासो छ । ‘५ हजार वृद्धभत्ता पाउने आशले त्यति बेला सबैले बाहिर भएका बाउ आमालाई आफ्नो साथमा राखे अहिले सरकारले वृद्धाभत्ता नबढाएपछि छोरा बुहारीले बाउ आमालाई वृद्धाश्रम लखेटिरहेका छन्’ उनले भने । वृद्धाहरुलाई सरकारलाई सम्मानस्वरुप वृद्धाभत्ता बढाउनु पर्ने उनको माग छ ।
किसानहरुले उत्पादन गर्ने दूधको मूल्य बढाउनु पर्यो भनेर उनले विभिन्न कार्यक्रममा गएर माग गरेको वर्षौं भइसक्यो तर पनि केही परिवर्तन नभएको उनले बताए । ‘बजारमा १ लिटर पानीको मूल्य २५ रुपैयाँ पर्छ, तर किसानले उत्पादन गरेको अमृततुल्य दूधको मूल्य किन बढ्दैन्’ उनी प्रश्न गर्छन् । किसानद्वारा उत्पादित सबै वस्तुहरुको मूल्यमा वृद्धि नगरेसम्म देशबाट गरिबी नहट्ने उनको भनाइ छ । गरिबी निवारण कोष भनेर थुप्रै पैसा आउँछ तर वास्तविक गरिवले केही थाहा नपाउने गरेको उनी दावी गर्छन् ।
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
शुक्रबार, १३ पुस २०७५, १३ : ४७
लेखकबाट थप