काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहेपनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताउनु भएको छ ।
खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठेकेदार कम्पनी सिएमसीसँग काम गर्न कुनै दुविधा छैन तर उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ । सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ । पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण नबनिसकेको भएपनि मन्त्रालयले उच्च स्तरमा समस्याको हल खोजिरहेको छ ।”
सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको उहाँको भनाई छ । खानेपानी मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार निकै गम्भीर रहेको पनि उल्लेख गर्नुभयो ।
अन्तिम अवस्थामा आएर मेलम्चीको काम रोकिंदा साह्रै दुःख लागेको बताउँदै उहाँले मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं । मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिईयोस् भन्नका लागि सरकार निकै गम्भीर भएर लागिरहेको छ ।”
कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँच भन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजनाहरु समेटेर योजना बुक तयार गरेको जानकारी दिनुभयो । घण्टौं घण्टासम्म पानीका लागि हिंड्नुपर्ने समस्याको हल गर्न थप योजनाहरु ल्याउन लागिएको उहाँको भनाई छ । उहाँले खानेपानी मन्त्रालय गठन भएपछि पहिलो पटक खानेपानीसँग सम्बन्धित कानुनहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
खानेपानीको आपूर्तिसँगै ढल व्यवस्थापन गर्न समेत ढल नीति पारित भएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०७५, १६ : २१
लेखकबाट थप