‘खेलकुद क्षेत्र भरतपुर महानगरको प्राथमिकता’

आइतबार, ०८ पुस २०७५, १६ : ३७
‘खेलकुद क्षेत्र भरतपुर महानगरको प्राथमिकता’

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ८, गौरीगञ्ज स्थित एसओएस हर्मन माईनर स्कुल भरतपुरको बार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै मेयर दाहालले महानगरले खेलकुद क्षेत्रको विकासका लागि २९ वटै वडामा अनिवार्य रुपमा एउटा खेल मैदान हुनुपर्ने नीति लिएको जानकारी दिनुभयो ।   
अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सजिलो माध्यम खेलकुद भएको मेयर दाहालले बताउनुभयो । खेलकुदको विकासले समृद्ध नेपाल बनाउन महत्वपुर्ण सहयोग पुराउँछ, उहाँले भन्नुभयो,‘भरतपुर वडा नम्बर २०, भिमनगरमा राष्ट्रिय स्तरको फुटबल मैदान निर्माण भईरहेको छ । त्यस्तै राष्ट्रिय गौरवको आयोजना अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्न लाग्नु चितवनबासीका लागि खुसीको कुरा हो ।’
नेपाललाई अन्तराष्ट्रिय चिनाउने माध्यम खेलकुद भएकाले यसको विकासमा सबैको ध्यान आवश्यकता रहेको मेयर दाहालले बताउनुभयो ।
खेलकुदको विकास गर्न महानगरपालिकाले आवश्यक बजेट छुटाउन पछि नपर्ने उहाँको भनाई थियो । मेयर दाहालले गुणस्तरीय शिक्षाका लागि प्रविधिक र व्यवहारिक शिक्षालाई प्रथामिकता राखेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस