- शान्ता अधिकारी
चितवन । बिहान पाँच बजेबाट सुकमाया गुरुङको दैनिकी सुरु हुन्छ । दिनभर उनी घरमै रहेको किराना पसलमा व्यस्त हुन्छिन् । दिउँसो मिलेसम्म श्रीमान् र छोरीहरुलाई पसलको जिम्मा लगाएर केहीबेर भएपनि सामाजिक कार्यमा सहभागी हुन्छिन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११, गणेस्थानमा बस्ने ४० वर्षीया सुकमायाको जन्म चितवनको जगतपुरमा भएको हो । तीस महिनाको विदेश बसाईले उनलाई पसलकी साहुनी बनाएको हो । आजभन्दा १४ वर्ष अगाडि साउदी अरब पुगेकी सुकमाया त्यहाँ रहँदा समय र पैसाको महत्व बुझेपछि आफ्नै देशमा केही गरौं भनेर नेपाल आएको बताउँछिन् ।
विगत सम्झँदै सुकमाया भन्छिन्, ‘कमाई केही थिएन । बच्चाहरु सानै थिए । खर्च दिनदिनै बढ्दो थियो । अब के गरेर कमाउने होला जस्तो लाग्थ्यो । श्रीमानको भरमात्रै पर्नुभन्दा केही गर्नुपर्छ भन्ने लाग्यो । घरमा सल्लाह गरेँ । मेरो नन्द पनि साउदीमा नै हुनुहुन्थ्यो । महिनाको आठ हजार पठाएको देख्दा त्यतिबेला के के नै लाथ्यो ।’
आफ्नो नन्द साउदीमा भएको र महिनाको आठ हजारसम्म कमाई हुन्छ भन्ने सुनेपछि उनी विदेश जाने सोचमा थिइन् । विदेश लैजाने मान्छेसँग भेट भएको केही समयमा नै पासपोर्ट बनाएर उनी त्यसतर्फ लागिन् । भारतको मुम्बईमा साउदीको साहुले आएर सुकमायालाई छानेपछि उनी नेपालबाट भारत गएको तीन दिनमा नै साउदी अरब पुगेकी थिइन् ।
विदेश जाने सोच हुँदा उनीसँग न त हातमा पैसा थियो, न त कुनै सीप नै । सुकमाया आफ्नो विगत भन्दै गर्दा पैसा र समयको महत्व बुझ्नको लागि एक पटक विदेश जानै पर्नेमा जोड दिन्छिन् । भन्छिन् ‘हामी त बिहान बेलुका घरमा काम ग¥यो । दिनभर घाम तापेर दिन जान्छ । जब मान्छे विदेश जान्छ अनि १८ घण्टासम्म काम गर्दा पैसाको महत्व बुझ्ने रहेछ । यो कुरा बुझाउन छोरीहरुलाई पनि विदेश पठाउने सोचमा छु ।’
हातमा कुनै पनि सीप नभएकी सुकमाया आठ हजार रुपैयाँलाई माया गर्दै साना तीन वटी छोरी र श्रीमानलाई छाडेर विदेश गइन् । उनी भन्छिन्, ‘घरको आर्थिक अवस्था कमजोर थियो । श्रीमानसँग सल्लाह गरेर नानीहरुको रेखदेख उहाँले गर्ने, म विदेश जाने भनेर हिँडें ।’ विदेशी भूमिमा भाषाले गर्दा धेरै दुःख पाएको उनी बताउँछिन् ।
विगत सम्झँदै सुकमाया भन्छिन्, ‘सुरुका दिनमा भाषा नजान्दा दुःख पाएँ । जब भाषा बुझ्दै गएँ, साहुसाहुनीले माया गर्न थाले । तर, दश महिना हँुदा पनि पैसा दिने कुरा नगर्दा भने दुःख लाग्यो । म आउँदा ऋण लागेछ, मलाई पैसा दिनु भन्दा साहुनीले हामीले तँलाई किनेर ल्याएको हो । तँलाई पैसा दिनु पर्दैन भनी । उता मलाई पठाउने दलालीले भने तीस हजार दिनुपर्छ भनेको थियो । तर पछि सबै कुरा थाहा पाएपछि मैले पैसा लिइन ।’
जब साहुले दश महिनापछि पैसा दियो, उनले खुसी हँुदै आफ्नो श्रीमानलाई त्यो पैसा पठाइन् । जब उनले विदेशबाट पैसा पठाउँथिन्, नेपालमा रहेका श्रीमानले त्यसलाई लगानी गरिहाल्थे । उनी भन्छिन्, ‘सफलता एक्लै हात लाग्ने होइन रहेछ । यसमा श्रीमानको पनि साथ छ । उहाँले मैले पठाएको पैसाले दुई कोठाको घर बनाउनु भएछ । कुखुरापालन सुरु गर्नु भएको थियो ।’
सुकमायाको काम भने सजिलो थिएन । दैनिक १८ घण्टासम्म काम गर्नुपर्ने । दिनभर गर्मी भएर काम गर्न मुश्किल हुन्थ्यो सुकमायालाई । रातभर साहुसाुहनी बजार जाने, जसले गर्दा रातमा निन्द्रा लागेपनि सुत्न नपाउने गरेको उनले सुनाइन् । उनी विदेशमा रहँदा एक्लै घरको काम गर्थिन् । मनमा अनेक कुरा खेल्थे । आफ्नै ठाउँमा यति दुःख गर्न पाए त कति कमाई हुन्थ्यो होला ?
‘धेरै मानसिक कुराहरुले सताउन थालेपछि आफ्नै घरमा आएर केही गरौँ जस्तो लाग्यो’ सुकमाया भन्छिन्, ‘गएको पनि दुई वर्ष भैसकेको थियो । कमाएको सबै पैसा घरमा पठाउँथें । घर आउने सोच आएपछि हात खाली थियो । अनि सोचेँ, बच्चाहरुलाई केही लगीदिनु पर्छ भनेर थप ६ महिना बसेर विदेशको बसाई सदाका लागि छोडेर २०६४ कात्तिक ३ गते घर आएँ ।’
‘घरमा श्रीमानले कुखुरा पाल्न सुरु गर्नु भएको थियो । अब त्यसैलाई बढाउनु पर्छ भनेर तीन हजार कुखुरा बनाएर पाल्न थालेँ’ नेपाल फर्केपछिको समय सम्झँदै उनले भनिन्, ‘आफूले पालेको कुखुरा आफैले काटेर बेच्न थालेँ । कुखुरामात्रै काट्दा कोठा खाली जस्तो लाग्यो, थोरै थोरै किराना सामान राखेँ । त्यो सामान राख्दा ¥याक खाली जस्तो लाग्ने । बिस्तारै सामान थप्दै जाँदा अहिले होलसेल पसल बनाएकी छु ।’
उनी आफ्नो व्यापारमा रातदिन खटिएकी छिन् । घरमा नै ई सेवा सञ्चालनमा रहेको छ भने फोटोकपी पनि सञ्चालनमा रहेको छ । त्यसैगरी किराना पसलसँगै उनको फ्रेस हाउस पनि सञ्चालन छ । बिहानबाट साँझसम्म उनलाई भ्याईनभ्याई हुन्छ । आफ्नो व्यापार व्यवसायका साथसाथै उनी समय मिलेमा वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुसँग कुराकानी पनि गर्छिन् ।
सधैं परनिर्भर रहने सुकमायालाई अहिले आफैले कमाएर खर्च गर्न पाउँदा आनन्द लाग्छ । किराना पसलको आम्दानीले तीन वटी छोरीलाई उच्च शिक्षासम्म पढाएकी छिन् भने एउटा छोराले स्कुले शिक्षा लिइरहेका छन् । उनी आफनो कमाईबाट सन्तुष्ट छिन् । दैनिक दुई हजार रुपैयाँ बचत हुने सुकमाया बताउँछिन् । सुकमाया नेपाल आउँदा उत्साह र उमङ्ग लिएर चितवन आइन् । मनमा अनेक योजना भएपनि त्यसलाई कसरी साकार पार्ने भन्ने बारेमा उनलाई थाहा थिएन । त्यसैक्रममा घर छेउमा नै रहेकी मनिता सापकोटासँग उनले मनको कुरा राखिन् । मनिता पाौरखी नेपाल चितवनको अध्यक्ष भएका कारण उनलाई वैदेशिक रोजगारीको बारेमा जानकारी थियो । त्यसमा पनि घर छेउमा रहेकी बहिनीलाई स्वदेशमा नै केही गर्न सिकाउन पाउँदा मनिताले सक्दो सहयोग गरिन् । सुकमाया भन्छिन्, ‘दिदी पहिलेबाट नै विदेश जाँदा भाषा, रहनसहन र अन्य के कुरा बुझेर जानुपर्छ ? यहाँ फर्केपछि के गर्न सकिन्छ ? भनेर दिदीले सिकाउनु भयो । अहिले पौरखी नेपालले गर्दा मैले धेरै कुरा सिक्न पाएँ । वरपरका दिदी बहिनीहरुलाई पनि सिकाउन थालेको छु ।’
पछिल्ला दिनमा रोजगारी गर्न विदेश जाने महिलाको संख्या बढिरहेको छ । असुरक्षाका कारण भन्दै सरकारले घरेलु काममा जान रोकेपनि भारतको एअरपोेटँ हँुदै विभिन्न खाडी मुलुक जानेको संख्या दिनदिनै बढ्दो छ । गणेशस्थान क्षेत्रमा नै ७१ जनाले श्रम स्वीकृति लिएर विदेश गएको पौरखी नेपाल चितवनकी अध्यक्ष मनिता सापकोटा बताउँछिन् । त्यसैगरी २०७३ साल असार मसान्तसम्म चितवनका मात्रै तीन हजार जना विदेश गएको पौरखी नेपाल चितवनका कार्यक्रम संयोजक गोविन्द न्यौपाने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस