विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालका महर्जन विजयी

सोमबार, ०२ पुस २०७५, १८ : ४७
विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालका  महर्जन विजयी

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालिको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए । थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसीप’ मा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका थिए । उनी ७ राष्ट्रको समुहमा चौंथो भए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र लुक्स र हाउभाउ पनि हेरिन्छ । एक प्रकारले यसलाई ‘ह्यान्डसम प्रतियोगिता’ पनि भन्न सकिन्छ ।

एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाउने निर्णय गरेको थियो । यसका लागि ६ महिनादेखि उनले तयारी गरिरहेका थिए । बडी बिल्डिङको तयारी भनेको जिम गर्ने मात्र होइन । यसमा खानपानमा नियन्त्रण सबैभन्दा प्रमुख कुरा हो । महर्जनले ६ महिना अगाडिदेखि नून खान छोडेका थिए । नूनले तौल बढाउने र डिहाइड्रेसनसमेत हुने गरेकाले प्रतियोगिताभन्दा धेरै अगाडिदेखि नून खान नहुने नेपाल बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएशनका उपाध्यक्ष दिनेश राजभण्डारी बताउँछन् ।

महर्जनले भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक ३० वटा अन्डा (सेतो भाग मात्र) खान्थे भने एक किलो कुखुराको ब्रेस्ट खान्थे । दैनिक ८ घन्टा जिम गर्थे । राजभण्डारीका अनुसार प्रतियोगिताको केही दिन अगाडिदेखि खेलाडीहरुले सामान्य पानीसमेत पिउँदैनन् । उनीहरु ब्याट्रीमा हालिने डिस्टिल्ड वाटर मात्र पिउँछन् । महर्जनले पनि यसै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस