नारायणगोपाल सन् १९६४–६५ तिर दार्जिलिङ आए । ईश्वर बल्लभ र नारायणगोपालको परिचय रहेछ । ईश्वरले नै नारायणगोपाललाई परिचयका लागि मेरोमा ल्याए । त्यही भेटमा ईश्वरले मलाई भने, ‘भाइ नारायणगोपाल र गोपाल योञ्जनको मीत लगाइदिन पाए राम्रो हुन्छ ।’ मैले समर्थन जनाएँ । अनि दुवैलाई यो प्रस्ताव गरेँ । उनीहरूले पनि मानिहाले । त्यसपछि म, नारायणगोपाल, गोपाल योञ्जन, ईश्वर बल्लभ, र कर्म योञ्जन पाँचजना चौरस्थामाथिको महांकाल मन्दिर गयौँ । त्यहाँ अग्निलाई साक्षी राखेर मीत लगाइदियौँ ।
दार्जिलिङमा ग्य्राजुएसन गरेपछि नेपाल आएर अंग्रेजी साहित्य पढ्न थालेँ । तर, एक–दुई दिनमा नै खल्लो लाग्न थाल्यो । दुई महिना भएपछि त बस्नै नसक्ने भएँ । जतिवेला पनि गोपाल योञ्जनको सम्झना आउने । अनि म दार्जिलिङ गएर आमालाई भनेँ, ‘गोपाल योञ्जन मेरो जिम्मा भयो, नेपाल लैजान्छु ।’ लिएर आएँ । त्यतिबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । मैले ल्याएर छात्रवृत्तिमा नेपाली पढाउने व्यवस्था गरिदिएँ । यसरी हामी काठमाडौंमा भेला भयौँ । नारायणगोपाल त्यति खुल्ने मान्छे होइन । भित्री स्वभाव एग्रेसिभ । तलमाथि परे ठटाइहाल्ने । उसको शरीरले पनि साथ दिएको । रोग नलाग्दासम्म त निकै बलिष्ठ थियो । उसले केही समय कुस्तीको ट्रेनिङ पनि लिएको । कसैले हेप्ने कुरा गरे कुटाइ खाने सम्भावना धेरै हुन्थ्यो ।
नारायणगोपाल वाम विचारको थियो । राजनीतिमा गहिरो रुचि राख्थ्यो । विश्व इतिहासकै ज्ञान राख्थ्यो । ऊ गायक नभएको भए इतिहासको शिक्षक हुन्थ्यो । त्यो पनि नभएको भए पहलमान हुन्थ्यो ।
नारायणगोपाललाई सुगरले निकै च्यापिसकेको थियो । हामी न्युरोडमा उभिएका वेला ऊ मोटरसाइकल लिएर आउँथ्यो । दुई मिनेट बसेपछि ‘एकछिनमा आउँछु है’ भनेर निस्किन्थ्यो । तर, १५ मिनेटपछि आउँथ्यो । चार–पाँच दिन त वास्ता भएन । अनि मैले पिछा गर्ने निर्णय गरेँ ।
एक दिन पछ्याउँदै गएँ । ऊ त नयाँ सडकको गेटनजिक गुदपाक भण्डारमा अडियो । म छलिएर बसेँ । उसले केही किन्यो । हातमा पोको पारेर हिँड्यो । ऊ हिँडेपछि मैले पसलेलाई सोधेँ । गुदपाक किनेर लगेको रहेछ । म फेरि पछिपछि लागेँ । महांकालको पूर्वपट्टि टुँडिखेलतिर फर्केर एक पाउ गुदपाक कपाकपी खायो । हात पुछेर फनक्क फर्केर नयाँ सडकतिर लाग्यो । म पहिल्यै पुगिसकेको थिएँ । भोलिपल्ट महाराजगन्जस्थित उसको घरमै गएँ । ‘तिमी सुगर भएर पनि दिनदिनै गुदपाक खाने ?’ भनेर झपारेँ । अनि उसले गुदपाक खान छाड्यो । म हुँदासम्म न्युरोड कहिल्यै आएन ।
मिल्ने साथीहरूसँग बसेर मैले रक्सी पिइनँ । त्यतिबेला त म पिउँदै पिउँदिनथिएँ । रञ्जना गल्लीमा आरसी मम भन्ने थियो । त्यहाँ ममसँगै लोकल ठर्रा पाइन्थ्यो । नारायण र गोपाल त्यहीँ बसेर पिउँथे । मचाहिँ ढोकामा कुरेर बस्थेँ । उनीहरू टिल्ल भएर आएपछि जाने । नारायण र गोपालको सम्बन्धमा एउटा रहस्य छ । नारायणको मृत्यु हुनु १० वर्षअघितिर उनीहरू केही टाढाजस्तो भए । हामीसँग हुँदा राम्रैसँग बोलचाल गर्थे । तर, नारायणले गोपाल योञ्जनको शब्द र संगीतमा गीत गाउन धेरै कम भयो ।
उनीहरूसँग बेग्लाबेग्लै सोधेँ । तर, दुवैले केही भन्न सकेनन् । पछि पेमला (नारायणगोपालकी श्रीमती) ले भनिन्, ‘तपाईंलाई म कारण त भन्दिनँ, तर उनीहरूबीच भिन्नता आएको हो, तपाईंलाई चित्त दुख्छ भनेर मात्रै यी दुई जोडिएर बसेका हुन् ।’ पछि, नारायणगोपालले गोपाल योञ्जनका गीत गाएन । यो मेरा लागि रहस्य नै रह्यो । गोपालका गीत र संगीतमा नारायणले अरू गीत गाएको भए उसको उचाइ अझ माथि हुन्थ्यो । नारायणको स्वरलाई कसरी प्रयोग गर्ने भनेर बुझ्ने व्यक्ति गोपाल नै हो ।
ऊ अहम् भएको व्यक्ति । भारतबाट गीत गाउन अफर आउँदा पनि गएन । मैले त जाऊ भनेको । तर, मानेन । जस्तो भए पनि नेपालमै बस्ने अडान लियो । त्यतिबेला पेमला इन्सुरेन्समा जागिरे थिइन् । नारायणले जागिर छाडिसकेको थियो । ऊ एक किलो मासु पकाएर दिनभरिमा सक्दो रहेछ । यसकारण पनि उसको स्वास्थ्य गम्भीर भयो । उसलाई रातो मासु खान हुँदैन थियो । तर, खसीको ह्याकुला चाहिने । मुत्युभन्दा एक–दुई महिनाअघि त झन् बढी खान थाल्यो । किन्नचाहिँ आफू नजाने, पेमलालाई पठाउने । फेरि एक पाउ मात्र ल्याउन नदिने । ‘तिमीलाई लाज लाग्दैन ? नारायणगोपालको श्रीमतीले एक पाउ मासु माग्दा त्यो पसलेले के भन्छ ?’ भनेर एक केजी किन्न लगाउँदो रहेछ । त्यतिवेला पेमला इन्सुरेन्समा जागिरे थिइन् । नारायणले जागिर छाडिसकेको थियो । अनि एक किलो मासु पकाएर दिनभरिमा सक्दो रहेछ । पेमला फर्किंदा मासु छैन । यसकारण पनि उसको स्वास्थ्य गम्भीर भयो ।
अस्पतालका अन्तिम दिन
एक महिना वीरमा रहँदा म, मेरी श्रीमती, पेमलाले चौबीसै घन्टा कुर्यौँ । उसलाई मनमा लागिसकेको थियो, जान्छु भन्ने । उसले एकपटक एक्लै बसेको वेलामा भनेको थियो, ‘एउटा वकिललाई बोलाइदिनू, म कागज गर्नेवाला छु, सबै घर–सम्पत्ति ट्रस्टलाई दिन्छु ।’ उसलाई ट्रस्टमार्फत संगीत कोष खडा गर्ने मन थियो । त्यो त पहिला पनि भनेको थियो । मैले ‘पेमलालाई अप्ठ्यारो हुन्छ, त्यो नगर, म व्यवस्था मिलाउँछु’ भनेर टारेँ ।
ऊ त बहकिएको कुरा गर्न थाल्यो । निद्रा नलाग्ने कुरा गर्थ्यो । मैले आँखा चिम्लेर पशुपतिलाई सम्झ भन्थेँ । उसले दिएको जवाफको अर्थ मैले अहिलेसम्म बुझ्न सकेको छैन । उसले भनेको थियो, ‘निद्रा नलागेपछि पशुपतिलाई सम्झेँ, तर जतिवेलै जोगमेहर श्रेष्ठको अनुहार याद आउँछ ।’ किन भन्यो मलाई अहिलेसमम्म पत्तो छैन । त्यतिवेला उसलाई सुगर र ब्लडप्रेसरले च्यापेको थियो । त्यसपछि किड्नी फेल भयो । त्यहीवेला ब्रेन ह्याम्रेज भयो । अनि कहिल्यै नफर्किने गरी गयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०७५, १५ : ५५
लेखकबाट थप